एमाले–माओवादी एकता, वैशाख ९ मा एकता नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

एमाले–माओवादी एकता, वैशाख ९ मा एकता नहुने

bam ghathabandan

काठमाडौं, ५ बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच यही वैशाख ९ मा हुने भनिएको पार्टी एकताको घोषणा नहुने भएको छ। विवादित विषयको टुंगो लाग्न नसक्दा वैशाख ९ गते पार्टी एकताको घोषणा नहुने भएको हो।

कार्यदलले सहमति जुटाउन नसकेको विषयमा पार्टी एकता संयोजक समितिको बैठकले प्रधानमन्त्रीसमेत रहनुभएका एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै जिम्मेवारी दिएको छ। एकताको गृहकार्यमा रहेका दुई दलबीच निर्वाचन चिह्न ‘सूर्य’ रहने सहमति जुटेको छ। पार्टी एकता संयोजन समितिको बैठक मिल्न बाँकी विषयलाई टुंगो लगाउन दुई अध्यक्षलाई जिम्मेवारी दिइएको छ। एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिह्न राख्नुपर्ने अडान राख्दै आएका थिए।

बैठकपछि रक्षा मन्त्रीसमेत रहनुभएका एमालेका महासचिव एवम् एकता संयोजक समितिका सदस्य ईश्वर पोखरेलले एकताका लागि ठूलो विवाद नरहेको र निर्वाचन चिह्नको बारेमा सहमति भइसकेको बताउनुभयो। मिल्न बाँकी केही विषयलाई अन्तिम रूप दिने काम दुई अध्यक्षले गरेर अब बस्ने अर्को संयोजन समितिको बैठकले निर्णय गर्ने उहाँले जानकारी दिनुभयो।

दुई दलबीचका वैचारिक र अन्तरिम विधान मस्यौदा कार्यदलले एकता घोषणाको मिति, निर्वाचन चिह्न, सांगठनिक अनुपात, जनयुद्धको विश्लेषणजस्ता विषयमा निर्णय गर्न बाँकी राखेर संयोजन समितिलाई गत चैत तेस्रो साता प्रतिवेदन बुझाएको थियो। प्रतिवेदमा यही वैशाख ९ गते एकता घोषणा गर्न सुझाव दिएको थियो। साथै दुवै दलले लाखौंको संख्यामा वैशाख ९ गते पार्टी एकताको घोषणा हुने बताएका थिए। पार्टी एकताको घोषणाको मिति भने दुई अध्यक्षको सहमति जुटेपछि मात्र हुने भएको छ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मिति तय गर्न दुई अध्यक्षको समझदारीपछि निर्णयमा पुग्ने सहमति भएको बताउनुभयो। वैशाख ९ गते एकता घोषणा गर्नका लागि एक साता मात्र समय बाँकी छ। दुई दलबीच गत फागुन ७ मा पार्टीको नाम ‘नेकपा कम्युनिस्ट पार्टी’ र निर्देशक सिद्धान्त ‘माक्र्सवाद लेनिनवाद’ राख्नेलगायत एकताका सातबुँदे प्रारम्भिक आधारमा सहमति गरेर एकताको प्रक्रिया अगाडि बढाएका थिए।

माओवादी केन्द्रले समानताको आधारमा एकता गर्नुपर्ने बताएको छ भने एमालेले व्यक्तिको योग्यता, क्षमता, पृष्ठभूमि र आवश्यकताका आधारमा एकता गर्नुपर्ने बताएको छ। दुई पार्टीबीचको एकता प्रक्रिया दोस्रो तहका नेताहरूको व्यवस्थापनको कारण लम्बिने भएको छ। दुई दलले वैशाखको १५ गतेभित्र नै पार्टी एकता गर्ने विषयमा पनि छलफल भएको बताइएको छ। तर औचपारिक निर्णय भने हुन सकेन। पार्टी एकताका लागि एमालेले वैशाख ६ गते पोलिटब्युरो र ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

केन्द्रीय समितिमा कति सदस्य रहने भन्ने टुंगो लगाएपछि मात्र माओवादी केन्द्रले आफ्नो पार्टीको तर्फबाट नाम टुंगो लगाउने भएको छ।
यसैबीच प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाउनुभएको छ। प्रचण्डको भनाइ उद्धृत गर्दै माओवादी केन्द्रका एक नेताले भने– ‘सचिव सरुवामा कुनै छलफल गर्नुभएन सरकारको काममा समन्वय पनि भएन, यसरी अगाडि बढ्दा अलि राम्रो सन्देश गएन।’ प्रधानमन्त्रीको कार्यशैलीप्रति माओवादी केन्द्रका मन्त्रीहरूले समेत असन्तुष्टि जनाउँदै आएका छन्। आजको नेपाल समाचारपत्रमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);