आतंककारी गतिविधी अहिलेको प्रमुख सुरक्षा चुनौती : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

भक्तपुर, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधी भएको बताएका छन् । नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक/हुद्या क्याडेट तालिमको आयुक्त पद प्रधान कार्यक्रममा आज श्री नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आतंककारी गतिविधीले शान्ति सुरक्षा, अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने बताएका छन् । ‘देशभित्र हिंसात्मक गतिविधीमा क्रियाशिल अतिवादी तत्वहरु, अन्तर्राष्ट्रिय आतंककारी गतिविधीको चुनौतीहरु साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्वहरु अहिलेका वास्तविक खतरा हुन्’ प्रधानमन्त्री ओलीले भने– ‘यस प्रकारका खतरा विरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार हुनु पर्दछ ।’

प्रधानमन्त्री ओलीले २१ औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको बताएका छन् । प्रधानमन्त्री ओलीले भने ‘राष्ट्रिय सुरक्षाका विविध आयामका बारेमा जानकार रही साइबर सुरक्षाको विश्वसनीय योजना सहित सुरक्षा निकायहरुबीच असरदार समन्वय बनाउनु जरुरी छ ।’

प्रधानमन्त्री ओलीले स्थायित्वको जगमा नेपालको विकास वर्तमान सरकारको लक्ष्य रहेको बताएका छन् । ‘हामी अहिले तुलनात्मक रुपमा स्थिर र शान्ति पूर्ण अवस्थामा छौँ’ प्रधानमन्त्री ओलीले भने ‘तर हामी सधैँ भविष्यमा उत्पन्न हुन सक्ने खतराका बारेमा सतर्क रहनु जरुरी छ ।’

प्रधानमन्त्री ओलीले नेपाली सेनाले राष्ट्र निर्माणका लागि नेपाली जनतासँग काँधमा काँध मिलाउँदै आएकोमा प्रशंशा व्यक्त गरे । नेपाली सैनिकहरुले विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा पुर्याएको योगदानलाई नेपाललाई शान्ति सैनिकहरुको देशको रुपमा चिनाएको प्रधानमन्त्री ओलीको भनाइ छ।