काठमाडौं, २६ चैत । नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले सचिवहरुको सरुवालाई लिएर चर्को असन्तुष्टि जनाएका छन् । माओवादी केन्द्रका मन्त्रीहरुले आज पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवासमा पुगेर सचिवहरुको सरुवामा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
माओवादी मन्त्रीहरुले अध्यक्ष दाहालसामु सचिव सरुवाको विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल नै नगराइएको भन्दै प्रधानमन्त्री ओलीले कार्यशैली सुधार नगरे काम गर्न कठिन हुने बताए । पार्टी प्रवक्ता पम्फा भुसालले पार्टीका सबैजसो मन्त्रीहरुले सचिवहरुको सरुवालाई लिएर गुनासो गरेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले भारत भ्रमण जानु एक दिन अगाडि ३० जना सचिवहरुको सरुवाको निर्णय गरेका थिए । माओवादी मन्त्रीहरुले आफूले सम्हालेका मन्त्रालयमा सचिवहरु सरुवा भएको खबर सञ्चार माध्यममार्फत थाहा पाएका थिए ।