रोजगारी सिर्जना र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन दबाब | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

रोजगारी सिर्जना र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन दबाब

नेपालमा लामो समयदेखि राजनीतिक अस्थिरता, कमजोर नीतिगत कार्यान्वयन र उत्पादनमूलक क्षेत्रको सुस्त विकासका कारण अर्थतन्त्र अपेक्षा अनुसार बलियो बन्न सकेको छैन । अर्थतन्त्रलाई पुनः चलायमान र सुदृढ बनाउने गरी नीति निर्माण तथा कार्यान्वयन गर्ने काम अब बन्ने सरकारको ठूलो जिम्मेवारीको रुपमा आएको छ ।

कुनैपनि देशको अर्थतन्त्रलाई बलियो बनाउन वित्तीय अनुशासन र प्रभावकारी बजेट कार्यान्वयन आवश्यक हुन्छ । तर नेपालमा बजेट विनियोजन भएपनि समयमा खर्च हुन नसक्ने, विकास योजनाहरु अधुरा रहने र स्रोतको दुरुपयोग हुने समस्याहरु दोहोरिदै आएका छन् । सरकारले अर्थतन्त्रलाई गति दिन स्थिर र स्पष्ट आर्थिक नीति अवलम्बन गरी लगानीकर्ताहरुका लागि विश्वासिलो वातावरण निर्माण गर्नुपर्छ, यसका लागि नीतिगत स्थायित्व अत्यन्त महत्वपूर्ण हुन्छ । बारम्बार नीति परिवर्तन हुने, निर्णय कार्यान्वयनमा ढिलाइ हुने र प्रशासनिक जटिलता बढ्ने प्रवृत्तिले निजी क्षेत्रलाई निरुत्साहित बनाउने गरेको छ ।

लगानीमैत्री वातावरण सिर्जना, प्रशासनिक प्रक्रिया सरलीकरण र पारदर्शी नीतिको कार्यान्वयनमार्फत् सरकार अघि बढ्नु आवश्यक छ । रोजगारी सिर्जना पनि अर्थतन्त्र सुधारको एक मूख्य आधार हो । हाल देशभित्र रोजगारीका अवसर सीमित हुँदा ठूलो संख्यामा युवा विदेशिन बाध्य भइरहेका छन् । त्यसैगरी नेपालमा आयातमा निर्भरता उच्च छ भने निर्यात अपेक्षाकृत कमजोर छ । यसलाई रोक्न उत्पादनमूलक क्षेत्र कृषि, उद्योग, पर्यटन र सूचना प्रविधिमा लगानी वृद्धि गर्न निकै जरुरी देखिन्छ । साना तथा मझौला उद्यमलाई प्रोत्साहन, स्र्टाटअप व्यवसायलाई सहुलियत र सीपमूलक शिक्षामा जोड दिन सके रोजगारीका अवसर विस्तार हुन सक्छन् ।

देशमा भ्रष्टाचार व्याप्त रहेकाले अब बन्ने सरकारको पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्नु हुनुपर्छ । लगानी आकर्षित गर्न र आर्थिक गतिविधि बढाउन राज्यका निकायहरुलाई प्रभावकारी बनाउँदै नीतिको कडाइका साथ कार्यान्वयन गर्नुपर्ने सर्वसाधारण बताउँछन् ।

राजनीतिक दबाब, सीमित स्रोतसाधन, कमजोर संस्थागत क्षमता र विगतदेखि चल्दै आएको संरचनागत समस्या समाधान गर्न अबको सरकारलाई त्यति सजिलो छैन । तर दीर्घकालीन योजना, दृढ राजनीतिक इच्छाशक्ति र प्रभावकारी कार्यान्वयनमार्फत् अघि बढ्नका लागि निर्वाचनमार्फत् प्रष्ट जनमत प्राप्त भएकाले अर्थतन्त्रलाई सही दिशामा लैजान सक्छ भन्ने नागरिकको आशा र भरोषा छ ।

Leave a Reply