'लघुवित्त संस्थाहरुमा सुशासनको कमी' | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८२, सोमबार

‘लघुवित्त संस्थाहरुमा सुशासनको कमी’

काठमाडाैं । ५ औँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन राजधानीमा शुरु भएको छ । उद्यमशीलता फैलाऔँ, युवालाई स्वरोजगार बनाऔँ भन्ने उद्देश्यका साथ आईतवारबाट राजधानीमा भएको ५ औँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन शुरु भएको हो ।

सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले लघुवित्त संस्थाहरूले गरिबी निवारण, महिला सशक्तिकरण तथा वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको बताउनु भयो । लघुवित्तमार्फत महिलाको सहभागिता उल्लेखनीय रूपमा बढेको र यसले समाजमा सकारात्मक परिवर्तन ल्याएको उहाँको भनाइ छ । श्रेष्ठकाअनुसार पछिल्लो समय नेपालमा गरिबी दर घट्दै गएको छ । यसमा लघुवित्तको भुमिका ठूलो रहेको छ ।

उपाध्यक्ष श्रेष्ठले लघुवित्त वित्तीय संस्थाहरूले गरिबीको मात्रा बढी रहेका क्षेत्रमा प्राथमिकता दिएर कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । अहिले भने जनघनत्व बढी भएको शहरी क्षेत्रमा लघुवित्तको पहुँच बढ्दै गएको र बहुबैंकिङको प्रवृत्ति देखिएको उहाँले उल्लेख गर्नुभयो ।

हाल लघुवित्त क्षेत्रमा विभिन्न समस्या देखिएको बताउँदै उहाँले निष्क्रिय कर्जा (एनपीएल) बढ्दै गएको र कर्जा असुली गर्न कठिनाइ भइरहेको उल्लेख गर्नुभयो । धेरै लघुवित्त सदस्यहरू पनि आर्थिक समस्यामा परेको अवस्था रहेको उहाँले बताउनु भयो । कोभिड १९ पछि समग्र अर्थतन्त्र अझै पूर्ण रूपमा सुधार हुन नसकेको र त्यसको असर लघुवित्त क्षेत्रमा पनि देखिएको उहाँको भनाइ छ ।

उपाध्यक्ष श्रेष्ठले पछिल्ला वर्षहरूमा बाह्य दबाबहरूले पनि नेपालको अर्थतन्त्रमा असर पारेको उल्लेख गर्नुभयो । दुई–तीन वर्षअघि रसिया–युक्रेन युद्धले मूल्यवृद्धि बढाएको, वाह्य क्षेत्रमा असर गरेको र विदेशी मुद्रा सञ्चिति घटाएको उहाँले स्मरण गर्नुभयो । हाल पश्चिम एशियामा जारी युद्धको प्रभाव पनि देखिन थालेको उहाँले बताउनु भयो ।
यसका साथै आन्तरिक राजनीतिक उथलपुथलले पनि अर्थतन्त्रमा दबाब सिर्जना गरेको उहाँले उल्लेख गर्नुभयो ।

उपाध्यक्ष श्रेष्ठकाअनुसार लघुवित्तले उत्पादन र उत्पादकत्व बढाउने तथा उद्यमशीलता प्रवद्र्धन गर्ने दिशामा काम गर्न आवश्यक छ । वित्तीय पहुँच विस्तारसँगै किसानले उत्पादन गरेका वस्तुहरूको बजारीकरणमा पनि लघुवित्त संस्थाहरूले भुमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।

किसानले उत्पादन गरेका वस्तुले उचित बजार नपाएको गुनासो बढिरहेको भन्दै उहाँले बजारीकरणका क्षेत्रमा लघुवित्त संस्थाहरू सक्रिय हुनुपर्ने धारणा राख्नुभयो । साथै आन्तरिक उत्पादनको उपयोग बढाउनुपर्ने र सोच तथा मानसिकतामा पनि परिवर्तन आवश्यक रहेको उहाँले बताउनुभयो । उत्पादन बढाएर लागत घटाउनसके बजारमा प्रतिष्पर्धा गर्न सकिने श्रेष्ठको भनाइ छ ।

सम्मेलनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले लघुवित्त संस्थादेखि सदस्यहरुसम्म समस्यामा परेका कारण एनपीएल बढिरहेको बताउनुभयो । लघुवित्त संस्थाहरुले आवश्यक नभएका व्यक्तिलाई कर्जा दिदाँ पनि खराब कर्जाको अनुपात ह्वात्तै बढेको बताउनुभयो ।

कार्यकारी निर्देशक पौडेलले वाणिज्य बैंकबाट माइक्रो फाइन्सहरुले ठूलो मात्रमा ऋण लिएकाले ती संस्थाहरु बिग्रने छुट नभएको बताउनुभयो ।

Leave a Reply

ताजा समाचार