काठमाडौं, २४ चैत । ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग वान टु वान वार्ता गरेका छन् ।
प्रधानमन्त्री ओलीले पूर्व निर्धारित कार्यक्रम नभएपनि सेभेन रेस कोर्स पुगेर मोदीसँग डेढ घण्टा लामो वान टु वान वार्ता गरेका हुन् । सेभेन रेस कोर्स भारतीय प्रधानमन्त्रीको सरकारी निवास हो । मोदीसँगको भेटवार्तामा ओलीले नेपालको विकासमा विश्वासिलो साथ, समर्थन र सहयोगको आग्रह गरेका छन् । ओलीले सुरक्षा लगायत कुनै पनि विषयमा भारतले नेपालबाट चिन्ता लिन नपर्नै भन्दै नेपालले पनि भारतसँग ढुक्कको वातावरण खोजेको बताए ।
मोदीसँगको भेटवार्तापछि नेपाली दूतावासले गरेको रात्रीभोजमा सरिक हुने क्रममा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै प्रधानमन्त्री ओलीले मोदीसँग दुई देशको सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको जानकारी दिए । उनले भारतसँग कुनै किसिमको असमझदारी नरहेको बताए । भारतीय प्रधानमन्त्री मोदीले ट्वीटमार्फत ओलीसँगको भेटपछि आनन्दित भएको उल्लेख गरेका छन् ।