काठमाडौं, २० चैत । इन्टरनेट सेवा प्रदायक केही कम्पनिले नियम बमोजिम समयमा नै रोयल्टी नर्तिदा दुरसञ्चार प्राधिकरणले ७ दिनको अल्टिमेटम दिएको छ ।
९ वटा भन्दा बढि सेवा प्रदायक कम्पनीले आरटीडीएफ र रोयल्टी दुवै रकम बुझाउन बाँकी रहेको भन्दै प्राधिकरणले सार्वजनिक सुचना मार्फत नै उक्त रकम ७ दिन भित्र बुझाइसक्नु पर्ने अन्यथा दुरसञ्चार ऐन २०५३ अनुुसार कारबाहिको भागिदार बन्नु पर्ने चेतावनी दिएको छ । प्राधिकरणका अनुसार रोयल्टी र ग्रामीण दूरसंचार विकास कोष आरटिडीएफमा रकम तिर्न अटेर गर्ने कम्पनीमा भायोनेट कम्युनिकेसन, ब्रोडलिङ्क नेटवर्क एण्ड कम्युनिकेशन, नेट म्याक्स टेक्नोलोजिज, क्लासिक टेक ,आइटेल कम्युनिकेशन, आईविएसएस नेपाल, एलाइड नेट लिंक टेक्नोलोजिज र आई फोर टेक्नोलोजिज् प्रालि रहेका छन् ।
जावलाखेलमा रहेको नेटवर्क तथा इन्टरनेट सेवा प्रदायक भायोनेट कम्युनिकेशनले आ.व. ०७३–७४को एक करोड ४२ लाख १३ हजार ७ सय ९२ रुपैयाँ रोयल्टी बुझाउन बाँकी छ । कम्पनीले आरटिडीएफको शुल्क भने बुझाइसकेको छ । सानेपास्थित इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशनले आर्थिक वर्ष ०७३–७४ को २५ लाख २५ हजार रुपैयाँ रोयल्टीका साथै सय प्रतिशत जरीवाना सहितको २५ लाख रुपैयाँ आरटिडीएफ बुझाउन बाँकी छ ।
अनामनगरस्थित इन्टरनेट सेवा प्रदायक नेट म्याक्स टेक्नोलोजिजले आ.व. ०७३–७४ को आठ लाख ८५ हजार सात सय १३ रुपैयाँ रोयल्टी बुझाउन बाँकी छ । नयाँ बानेश्वरस्थित नेटवर्क तथा इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आ.व. ०७३–७४को ५८ लाख दुई हजार नौ सय ८० रुपैयाँ रोयल्टी बुझाउन बाँकी छ । जावलाखेलस्थित नेटवर्क तथा इन्टरनेट सेवा प्रदायक आइटेल कम्युनिकेशनले आर्थिक वर्ष ०७३–७४ र आर्थिक वर्ष ०७२–७३ को आरटिडीएफ र रोयल्टी दुवै बुझाउन बाँकी रहेको प्राधिकरणले बताएको छ ।
प्राधिकरणका अनुसार कम्पनीको अडिटेड वित्तिय विवरण नभएको कारण बुझाउन बाँकी रहेको रकम हिसाब गर्न बाँकी नै छ । प्राधिकरणले उक्त कम्पनीलाई अडिटेड वित्तिय रपोर्ट र रकम बुझाउन अनुरोध गरेको छ। सिनामंगलस्थित इन्टरनेट सेवा प्रदायक आईविएसएसले आव ०७३–७४कोएक लाख ११ हजार पाँच सय १८ रुपैयाँ रोयल्टी बुझाउन बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ । महाराजगञ्जस्थित इन्टरनेट सेवा प्रदायक एलाईड नेट लिंक टेक्नोलोजिजले आव०७३–७४को एक लाख ८६ हजार एक सय पाँच रुपैयाँ बुझाउन बाँकी रहेको प्राधिकरणले बताएको छ ।
कमलादी स्थित ग्लोबल मोवाइल पर्सनल कम्युनिकेशन सेटलाइट जिएमपिसिएस सेवा प्रदायक आईफोर टेक्नोलोजिजले आर्थिक वर्ष ०७३–७४ को वित्तिय विवरण बुझाउनका लागि प्राधिकरणले सूचना जारी गरेको छ। प्राधिकरणले वित्तिय विवरण नभएका कारण बुझाउन बाँकी निश्चित रकम यकिन नभएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यसले सेवा प्रदायक कम्पनीले आरटीडीएफ र रोयल्टी दुवै रकम बुझाउन बाँकी रहेको छ ।
प्राधिकरणका अनुसार हरेक सेवा प्रदायकले आम्दानी गरेको दुई प्रतिशत रकम आरटिडीएफका लागि तिर्नुपर्छ भने चार प्रतिशत रकम रोयल्टी तिर्नुपर्छ ।