काठमाडौं, १६ चैत । नेपाली काँग्रेसका नेताहरुले पार्टीलाई एकतावद्ध बनाएर लैजान नेतृत्वसँग आग्रह गरेका छन् । पार्टीको जारी केन्द्रिय कार्य समितिको शुक्रबारको बैठकमा बोल्दै अर्जुननरसिंह केसी, एनपी साउद, चीनकाजी श्रेष्ठ लगायतका काँग्रेस नेताहरुले देशभर नयाँ जागरण आउने गरी पार्टीलाई एकतावद्ध बनाएर लैजान पार्टी नेतृत्वसँग आग्रह गरेका हुन् ।
देशभर पार्टीमा नयाँ जागरण आउने गरी पार्टीलाई एकतावद्ध बनाएर लैजान नेताहरुले पार्टी नेतृत्वलाई सुझाव दिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेता केसीले पार्टीमा पुनजागरण ल्याउन तत्काल महासमिति बैठक बोलाएर विधान संशोधन गर्नुपर्ने माग गरेका छन् ।
बैठकले सार्वजनिक विदा कटौति गर्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाएको छ । विभिन्न समुदायसँग समेत छलफल नै नगरी सरकारले एकलौटी ढंगले सार्वजनिक विदा कटौति गर्ने निर्णय गरेकाले त्यसको विरोध गर्नु परेको प्रवक्ता शर्माले स्पष्ट पारे ।
नेपाली काँग्रेसले पुस २७ गतेको राष्ट्रिय एकता दिवस र फागुन ७ गते प्रजातन्त्र दिवसको विदा कटौति गर्ने सरकारको निर्णयप्रति आक्रोश समेत व्यक्त गरेको छ । राष्ट्रिय एकता र लोकतन्त्रमाथि नै नकरात्मक सन्देश जाने गरी विदा कटौति गरिएको भन्दै प्रवक्ता शर्माले आक्रोश व्यक्त गरे । निर्वाचनको समिक्षा गर्न काँग्रेस केन्द्रिय कार्यसमिति बैठक जारी छ ।




