चक्रपथ सरसफाइ अभियान प्रभावकारी भएपनि उपलब्धि विहिन | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०७९, आइतबार

चक्रपथ सरसफाइ अभियान प्रभावकारी भएपनि उपलब्धि विहिन

chakrapath safai

काठमाडौं, १० चैत । चक्रपथ सरसफाइ अभियानले पचासौं हप्ता पार गरेको छ । चक्रपथमा देखिएको फोहर व्यवस्थापनका लागि भन्दै ५० हप्ता पहिलेदेखि सुरु भएको यो अभियान विस्तारै प्रभावकारी बन्दै जान थालेपनि ठोस उपलब्धि भने हासिल हुन सकेको छैन ।

चक्रपथ सफाई अभियान पचासौं हप्तामा आइपुग्दा सफाई सम्बन्धी सकारात्मक सोच देखिएपनि फोहर व्यवस्थापनका लागि उचित पहल भने हुन सकेको छैन । यो अभियानमा गैर सरकारी संस्था मात्रै नभएर सरकारी संयन्त्रको समयत संलग्नता रहेको छ । नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी लगायत सरकारका विभिन्न निकायका व्यक्तिहरु यो अभियानमा संलग्न छन् । तर, चक्रपथ बढार्ने र सामान्य फोहर संकलन गर्ने बाहेक थप उपलब्धि भने देखिएको छैन ।

पचासौं हप्ताको सफाई अभियानको नेतृत्व त पुर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै गरे । अभियानको अगुवाई गर्दै दाहालले अब चक्रपथ सफाईका साथसाथै राजनीतिमा पनि सफाई अभियानको अगुवाई आफुले गर्ने उद्घोष गरे । समृद्ध नेपाल निर्माणको लक्ष्य बोकेको वाम गठबन्धनका शीर्ष नेता समेत रहेका दाहालले अब सफाई बिनाको समृद्धि असम्भव रहेको बताए । उनले भ्रष्टाचार नेपाली समाजका लागि फोहरको डंगुर भन्दा डरलाग्दो देखिएकाले आफुहरुको ध्यान त्यतातीर केन्द्रित भएको बताए ।

कार्यक्रममा गृहमत्री राम बहादुर थापाले सरसफाई अभियान समाजलाई नै सफाई गर्ने अभियान भएको भन्दै यस अभियानले संस्कार बसाल्न सहयोग पुर्याउने बताए । मन्त्री थापाले आफुहरुको चाहना भ्रटाचार रहित प्रशासन भएको उल्लेख गर्दै फोहर सफाईमा लागेजस्तै भ्रष्टाचार अन्त्यका लागि पनि झाडु बोकेर लागिपर्ने प्रतिवद्धता जनाए ।

कामै गर्न नसकेर आलोचना व्यहोरिरहेको काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले भने कानुनको अभावमा आफुहरुले काम गर्न नसकेको दलिल पेश गरिन् । उनले अब चाँडैनै स्थानीय तहले पनि गतिशिल रुपमा काम गर्ने बताइन् ।

चक्रपथ सफाई अभियान अन्तरगत पहिलो चरणमा नयाँ बसपार्कदेखि नारायणगोपाल चोक सम्म सफाई गरिदै आइएको छ । शनिबार एक घण्टाको सफाई अभियानमै १० टन भन्दा बढी फोहर संकलन गरी महानगरपालिको गाडी मार्फत फोहर संकलन केन्द्रमा पुरयाइएको छ । बागमती सफाई अभियानले सफाई सम्बन्धी सचेतना बढाईरहेका बेला सुरु भएको चक्रपथ सफाई अभियान पछिल्लो समय थप प्रभावकारी बन्दै जानथालेपनि सरकारी तहबाट आवश्यक सम्वन्वयको खाँचो भने देखिएको छ ।