एन्फा निर्वाचनमा फिफाको चासो | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

एन्फा निर्वाचनमा फिफाको चासो

anfa election

काठमाडौं, १० चैत । पाटन उच्च अदालतको अन्तरिम आदेशपछि केही अन्योलमा देखिएको अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका बारेमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले चासो व्यक्त गरेको छ । फिफाले शुक्रबार पठाएको इमेलमा एन्फा निर्वाचन समयमै हुने अपेक्षासमेत गरेको छ।

मकवानपुर र भक्तपुर जिल्ला फुटबल संघले दायर गरेको रिटमाथिको बहसपछि बिहीबार न्यायाधीश राजकुमार बनको एकल इजलासले यही चैतको १४ गते हुने तय भएको एन्फाको निर्वाचन तत्काललाई रोक्न अन्तरिम आदेश जारी गरेको थियो । एन्फाले मकवानपुर र भक्तपुर जिल्लालाई निर्वाचनमा सहभागी नगराउने निर्णय गरेपछि दुवैले रिट दायर गरेका थिए । अदालतले यस सम्बन्धमा छलफलका लागि आगामी १५ दिनभित्र उपस्थित हुनसमेत आदेश दिएको छ ।

अदालतको आदेशको भोलिपल्ट नै फिफाले चासो व्यक्त गरेको हो । ‘फिफाले अदालतको निर्णयपछि एन्फाको निर्वाचन के होला भनेर चासो देखाएको छ’, एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले भने, ‘इमेलमा निर्वाचन पूर्वनिर्धारित समयमै होस् भन्ने अपेक्षा गरेको उल्लेख छ । साथै यस सम्बन्धमा सबै अपडेट मागेकाले हामीले ती कुराहरू पठाएका छौं ।’

अध्यक्ष श्रेष्ठका अनुसार एन्फाले पनि यो अवस्थामा अदालतको आदेशअनुसार निर्वाचन प्रक्रिया रोक्ने या अघि बढाउनेबारे फिफासँग सुझाव माग गरेको छ । श्रेष्ठले फिफाको जवाफअनुसार निर्वाचनको सम्बन्धमा निर्णय गरिने जनाए । ‘हामीले पनि यस्तो अवस्थामा के निर्णय गर्ने भन्ने बारेमा फिफालाई सोधेका छौं । यो अवस्थामा फिफाकै निर्देशन मान्नुपर्ने हुन्छ’, अध्यक्ष श्रेष्ठले भने, ‘हामीले नेपालमा अदालतको आदेशको अवज्ञा गर्न मिल्दै भन्ने कुरा पनि उल्लेख गरेका छौं । हाम्रो इमेलमा फिफाले जवाफ फर्काएपछि निर्वाचनबारे निर्णय गर्नेछौं ।’

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);