कोरिया जान दुई दिनमै ४० हजारको आवेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरिया जान दुई दिनमै ४० हजारको आवेदन

काठमाडौं, १० चैत । सन् २०१९ मा दक्षिण कोरिया जान रोजगार अनुमति प्रणालीअन्तर्गत इपिएस (कोरिया) भाषा परीक्षा दिन दुई दिनमै ४० हजार ५ सय ७० वटा आवेदन परेका छन् । बिहीबारदेखि सुरु भएको नवौँ इपिएस–टपिक परीक्षाको आवेदन चैत १७ गतेसम्म ग्लोबल आइएमईका शाखामा दिन सकिन्छ । बिहीबारको तुलनामा आवेदन भर्नेको भिड शुक्रबार भने केही कम देखिएको छ ।

वैदेशिक रोजगार विभागले आवेदन कार्यको सहजताका लागि गत वर्षदेखि अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ । जसअनुसार परीक्षार्थीहरूले अनलाइनबाटै आवेदन भर्न सकिने भए पनि रकम बुझाउन भने बैंकमै जानुपर्ने बाध्यता छ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत नेपाली कामदारले कोरिया जानुअघि इपिएस–टपिक (कोरियन भाषा) परीक्षा अनिवार्य उत्तीर्ण गर्नुपर्ने प्रावधान छ । ०७५ जेठ २६ र २७ गते हुने परीक्षाबाट ७ हजार १ सयजना उत्तीर्ण गर्ने सिलिङ तय भएको शाखाले जनाएको छ । जसमा ४ हजार ८ सय उत्पादनमूलक क्षेत्र र २ हजार ३ सय जना कृषि तथा पशुपालनतर्फ रहेका छन् ।

शुक्रबारसम्म ग्लोबल आइएमई बैंकमा कुल ४६ हजार ३ सय १३ जनाले रकम जम्मा गरिसकेका छन् । चैत १७ गते राति १२ बजेसम्म अनलाइनबाटै आवेदन भर्न सकिने विभागको इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले जानकारी दिए । ‘परीक्षार्थीहरूको सहजताका लागि सार्वजनिक बिदाका दिनसमेत बिहान १० बजेदेखि १२ बजेसम्म बैंकमा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ,’ उनले भने ।

ग्लोबल आइएमईको डोटी बोगटान शाखा र कमलादीमा रहेको कर्पोरेट कार्यालयबाहेक देशभरका १ सय १८ शाखाबाट रकम जम्मा गर्न सकिनेछ । सुरुका दुई दिन बैंकका शाखाहरूमा भिडभाडको अवस्था देखिएको भए पनि शनिबारदेखि भने केही सहज हुनेछ ।

१२ हजारजना परीक्षार्थीले पोखराबाट र बाँकीले काठमाडौंबाट परीक्षामा सहभागी हुन पाउनेछन् । यद्यपि, परीक्षा केन्द्र भने तय भइसकेको छैन । शाखाका अनुसार परीक्षा केन्द्र तोक्न भने थप केही समय लाग्नेछ ।

इपिएस कार्यक्रमअन्तर्गत सन् २००८ देखि यता कोरियामा ५१ हजार नेपाली कोरिया गइसकेका छन् । ४ वर्ष १० महिनाका लागि कोरियामा काम गर्ने अनुमति दिइने भए पनि फर्किएकाहरूको तथ्यांक व्यवस्थित नहुँदा हाल त्यहाँ कार्यरत नेपालीको संख्या भने यकिन गर्न सकिने अवस्था छैन । गत वर्ष जेठमा लिइएको कोरियन भाषा परीक्षामा ६८ हजार ३ सय ८३ जना परीक्षार्थी सहभागी भएका थिए ।

यो खबर आजको नयाँ पत्रीकामा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);