लगानी गर्नेलाई २ बर्ष कर छुटको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

लगानी गर्नेलाई २ बर्ष कर छुटको घोषणा

lagani

काठमाडौं, ९ चैत । कर्णाली प्रदेशमा उद्योगधन्दा खोल्दा पहिलो दुई वर्ष कुनै पनि कर नलाग्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घोषणा गरेका छन् ।

मन्त्री शाहीले कर्णाली प्रदेशमा लगानी गर्न आह्वान गर्दै पर्यटन, कृषि तथा अन्य उद्योग खोल्नका लागि कर नलाग्ने घोषणा गरेका हुन् । “कर्णाली प्रदेशमा अब आत्मनिर्भर बनाउने अभियानमा सबै निजी क्षेत्रको साथ खोजेका छौं, सहकार्य गरेर अगाडि बढ्ने हो,” मन्त्री शाहीले भने ।
रारामा बोटिङ सञ्चालन गर्न चाहने पर्यटन व्यवसायीलाई समेत खुला गर्ने घोषणा समेत मन्त्री शाहीले गरे । कर्णाली प्रदेशमा प्याराग्लाइडिङ, याफ्टिङ, होटल र रेष्टुराँ तथा ठूलो होटल खोल्नको लागि आवश्यक नीतिनियम बनाउने र लगानीकर्तालाई सहज बनाउने मन्त्री शाहीले बताए ।
दशैंपछि कर्णाली चामल वितरण नहुने
कर्णाली प्रदेश स्रोतसाधनले धनी भए पनि गरिवको नारा दिएर गरिब बनाउने काममात्र भएको उल्लेख गर्दै मन्त्री शाहीले यस वर्षको दसैंपछि कर्णालीमा चामल वितरण रोकिने दावी गरे ।

“अब उत्पादनमा स्थानीयलाई परिचालन गर्दै वितरण गर्ने प्रणाली अन्त्य गर्नेछौं,” मन्त्री शाहीले भने । विभिन्न गैरसरकारी संस्थाका नाममा स्थानीहरूको क्षमता घटाउने काम भएकोले अब गैरसरकारी संस्थालाई वितरण गर्ने काममा रोक लगाउनेसमेत उनले बताए । “अब उनीहरूले एकद्वार प्रणालीमार्फत सडक, सिँचाइ तथा भौतिक पूर्वाधारमा मात्र काम गर्न पाउने छन्, अन्यमा रोक लाग्छ,” शाहीले भने । यस्तो संस्थाहरूले विभिन्न तालिम भन्दै भत्ता वितरण गर्दा उत्पादनै छाडेको गम्भीर समस्या उत्पन्न भएको शाहीको भनाइ छ ।

‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ घोषणा
कर्णाली सरकारले २०७५ लाई कर्णाली प्रदेशले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मनाउने भएको छ । प्रदेश सरकारले गरेको निर्णय बिहीबार सार्वजनिक गर्दै वैशाख १ गतेदेखि वर्षभरी पर्यटन गतिविधि गर्ने घोषणा गरिएको छ । स्वदेशी र विदेशीगरी २०७५ सालमा ५ लाख पर्यटक कर्णाली प्रदेश पुर्याउने घोषणा गरिएको छ । आजको कारोबार दैनिकमा खवर छापिएको छ ।