मायादेवी मन्दिरमा नक्कली टिकट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मायादेवी मन्दिरमा नक्कली टिकट

भैरहवा, ३ चैत । आर्थिक विवादमा मुछिँदै आएको लुम्बिनी विकास कोष यसपटक नक्कली टिकट विवादमा परेको छ। शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर प्रवेश गर्ने टिकट नै नक्कली फेला परेको छ। मायादेवी मन्दिर प्रवेशका लागि कोषले लुम्बिनी संरक्षण शुल्कबापत तेस्रो मुलुकका नागरिकलाई प्रतिव्यक्ति २ सय रुपैयाँको टिकट तय गरेको छ। फागुन २७ गते थाई पर्यटक मायादेवी मन्दिर प्रवेश गर्ने क्रममा टिकट जाँच गर्दा नक्कली भएको खुलेको हो।

कोषका कर्मचारी, टिकट जाँच गर्ने सुरक्षा निकायको मिलेमतोमा नक्कली टिकटबाट पर्यटक मायादेवी मन्दिरमा प्रवेश गर्दै आएको स्थानीयको दाबी छ। पर्यटकसँग नक्कली टिकट भेटिएपछि कोषले थाई पर्यटकको भारतीय पथप्रदर्शक (गाइड), स्थानीय दुई जना ट्याक्सी चालक र कोषको राजस्व शाखामा कार्यरत एक जना कर्मचारी गरी चार जनालाई प्रहरीको जिम्मा लगाएको थियो। इलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक पुरोषत्तम रावत क्षेत्रीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरे पनि घटनाबारे केही नखुलेकाले रिहा गरी अनुसन्धान भइरहेको भन्ने ‘तयारी प्रतिक्रिया’ दिएर पन्छिए। घटनाको अनुसन्धान नगरी प्रहरी निरीक्षक क्षेत्रीले घटनालाई थामथुम पार्न खोजेको सरोकारावालाको आरोप छ।

थाई पर्यटकको साथबाट नक्कली टिकट भेटिएको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताए। ‘पर्यटकको साथबाट नक्कली टिकट भेटिएको जानकारी पाएपछि यसबारे आवश्यक छानबिन गर्न गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र इप्रका लुम्बिनीलाई पत्राचार गरेका छौँ’, उनले भने, ‘१ सय ५६ वटा नक्कली टिकट भेटिएपछि कोषका कर्मचारीसहित ४ जनालाई प्रहरीको जिम्मा लगाएका थियौँ त्यसपछि प्रहरीले के गर्दै छ थाहा भएन।’

कोषका योजना प्रमुख सरोज भट्टराईले पर्यटकले सवारी चालकबाट टिकट लिएको र सवारी चालकले कोषका कर्मचारी गंगाराम गिरीबाट टिकट लिए खुलेको छ। घटनाबारे अनुसन्धान भइरहेको र कर्मचारी वा चालक जो भए पनि कारबाही हुने बस्नेतले बताए। घटनाको छानबिन गर्न लुम्बिनी विकास कोषले कोषको बोर्ड सदस्य अमेरिका कोहारको संयोजकत्वमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको प्रतिनिधिसहित ३ सदस्यीय छानबिन समिति गठन गरेको छ। कोषबाट पनि घटनाबारे अनुसन्धान भइरहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिएका छन्।

कोषको टिकट काउन्टरबाट नक्कली टिकट बिक्री भएको सम्भावना कम रहेको दाबी गर्दै पर्यटकलाई लिएर आएको सवारी चालकले नक्कली टिकटबाट मन्दिरमा प्रवेश गराउन खाजेजस्तो देखिए पनि घटनाको अनुसन्धान भइरहेको कारण अहिले नै निष्कर्षमा नपुगिएको बताए। ‘कोषको टिकट काउन्टरबाटै नक्कली टिकट बिक्री हुने सम्भावना कम छ। बाहिरबाट नक्कली टिकट छापिएर आएको हुन सक्छ’, उपाध्यक्ष त्रिपाठीले भने। घटनालगत्तै टिकट बिक्री गर्ने कर्मचारीको हस्ताक्षरसहित टिकट बिक्री हुनुपर्ने व्यवस्था गरिएको उनले बताए।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);