लुम्बिनी भ्रमणमा सस्तो प्याकेज : दुई दिनको तीन हजार रुपैयाँ | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८१, मंगलबार

लुम्बिनी भ्रमणमा सस्तो प्याकेज : दुई दिनको तीन हजार रुपैयाँ

बुटवल । कोभिड–१९ का कारण थलिएको पर्यटन व्यवसाय उकास्न लुम्बिनीका पर्यटन व्यवसायीले सस्तो प्याकेज घोषणा गरेका छन् । आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गरी धेरैभन्दा धेरै पर्यटक लुम्बिनी आउने वातावरण बनाउन उनीहरूले सस्तो प्याकेज ल्याएका हुन् । सस्तो प्याकेज सार्वजनिक गरेपछि आन्तरिक पर्यटक बढ्ने अपेक्षा व्यवसायीको छ ।

तत्कालका लागि लुम्बिनी होटेल संघले एक रात दुई दिनको भ्रमण प्याकेज सार्वजनिक गरेको छ । १५ असोजदेखि लागू हुने गरी दुई हजार एक सय ९९ रुपैयाँमा लुम्बिनीको गाइडेड प्याकेज टुर कार्यक्रम घोषणा गरिएको संघका महासचिव लीलामणि शर्माले जानकारी दिए । 

लुम्बिनी होटल एसोसिएसनले आवासमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरेको होटल एसोसिएसन लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिए ।

‘लुम्बिनी घुम्न आउने पर्यटकका लागि यो अफर सार्वजनिक गरिएको हो’, उनले भने । कोभिडका कारण कमजोर अवस्थामा पुगेको पर्यटन बजारलाई सहयोग पुग्ने उद्देश्यका साथ अफर सार्वजनिक गरिएको हो । ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायीले यो अफर सार्वजनिक गरेपछि पर्यटक आउने अपेक्षा गरिएको छ ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा करिब १८ महिनादेखि विदेशी पर्यटकको आगमन लुम्बिनीमा शून्य छ । धार्मिक पर्यटकको रूपमा भारतबाट आउने पर्यटकसमेत नाका बन्दका कारण आउन नसकिरहेको अवस्थामा व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी सस्तो प्याकेज घोषणा गरेका हुन् । 

होटल बन्द अवस्थामा रहे पनि सफा गर्नुपर्ने, बिजुली, पानी तथा केही कर्मचारी राख्नुपर्ने, घरभाडा तिर्नुपर्ने बाध्यता रहेकाले यो अफरले केही सहयोग पुग्ने उनीहरूको विश्वास छ । लुम्बिनी आउने बौद्धमार्गीलाई समेत यो अफरले सहयोग पुग्ने पर्यटन व्यवसायीले बताएका छन् ।

संघका अध्यक्ष मिथुन श्रेष्ठका अनुसार प्याकेजको पहिलो दिन पर्यटकलाई बसपार्कबाट पिकअप गरी होटेलमा स्वागत गरिनेछ । सोही दिन लुम्बिनीबारे जानकारी दिई केहीबेरको विश्रामपछि साँझ लुम्बिनी तथा बुद्धग्राम रोबोटिक थिएटर भ्रमण गराउने र  रात्रिभोजन गराई विश्राम दिइनेछ ।

प्याकेजको दोस्रो दिनमा बिहानको खाजादेखि मायादेवी मन्दिर र गुम्बा भ्रमण, अन्तर्राष्ट्रिय विहार क्षेत्र भ्रमण, दिउँसोको खाना तथा विश्राम र विदाइ रहेका छ । उक्त प्याकेजमा दुई बेड भएको कोठा, साँझको खाना, बिहान ब्रेकफास्ट, धूपबत्ती, गाइड, बुद्धग्राम रोबोटिक थिएटर टिकट, लन्च, मायादेवी मन्दिर प्रवेश टिकट र अन्तर्राष्ट्रिय विहार क्षेत्र भ्रमणका लागि यातायातको व्यवस्था गरिएको संघका महासचिव लिलामणि शर्माले जानकारी दिए ।

पर्यटन व्यवसायीले मायादेवी मन्दिर अलि ढिलो समयसम्म खोल्न आग्रह गरेका छन् । मायादेवी मन्दिरलाई रातिको ११ बजेसम्म खोल्न पर्यटन व्यवसायीले माग गरेका छन् । यसले लुम्बिनीमा पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिने उनीहरूको तर्क छ ।

लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले यहाँ आउने पर्यटकले सौहार्दता खोज्ने भएकाले व्यवसायीले त्यसमा ध्यान दिनुपर्ने बताए । महामारीपछि लुम्बिनीमा आध्यात्मिक पर्यटक उतार्न लुम्बिनी विकास कोषले पनि पहल गरिरहेको उनको भनाइ छ । 

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले विभिन्न क्षेत्रमा लुम्बिनीको प्रवद्र्धन गरिरहेको बताए । यसको साथै पर्यटकको बसाइ अवधि लम्ब्याउन गुरुयोजनालाई अन्तिम रूप दिन लागिपरेको उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);