काठमाडौं, १ चैत । सत्तारुढ बामगठबन्धनको तर्फबाट एमाले सांसद शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभाको उपसभामुखमा उम्मेदवारी दिएकी छन् । यसैगरी नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसाल गौतमले पनि उम्मदेवारी दर्ता गरेकी छन् ।
तुम्बाहाम्फेको प्रस्तावकमा देवप्रसाद गुरुङ र समर्थकमा रवीन्द्रप्रसाद अधिकारी छन् भने भुसालको प्रस्तावकमा डा. डिला संग्रौला र समर्थकमा देवेन्द्रराज कँडेल रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा एमालेकी सांसद तुम्बाहाम्फे र काँग्रेसकी प्रतिनिधिसभा सदस्य पुष्पा भुसाल गौतमले उपसभामुख पदमा उम्मेदवारी दिएका हुन् । शुक्रबार अपरान्ह १ बजे उपसभामुखको निर्वाचन हुँदैछ ।
उपसभामुखमा उम्मेदवारी दर्ता गरेपछि सांसद तुम्बाहाम्फेले देश र जनतालाई केही गर्ने थप अवसर प्राप्त भएको प्रतिक्रिया दिएकी छन् ।
पार्टी एकीकरणको अन्तिम गृहकार्यमा जुटेको एमाले र माओवादी केन्द्रबीच सभामुख र उपसभामुख पद पनि बाँडफाँड भएको थियो । सोही अनुसार एमाले सांसद तुम्बाहाम्फेलाई उपसभामुखको उम्मेदवार बनाइएको हो । सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भईसकेका छन् ।