चौदण्डीगढीका सर्वसाधारण वर्षौंदेखि खानेपानीको चर्को अभावमा | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

गोपाल पोखरेल , उदयपुर , साउन २४ । ऐतिहासिक महत्व बोकेको उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर १ चौदण्डीगढीका सर्वसाधारण वर्षौंदेखि खानेपानीको चर्को अभाव खेप्दै आएका छन् । हावापानी र अन्य हिसाबले चौदण्डीगढी बस्न योग्य भए पनि खानेपानीको अभाव खेप्न नसकेर यहाँका कतिपय बासिन्दा बसाइँसराइ गरेर अन्यत्र जान थालेका छन् ।

पानी अभावकै कारण बसाइँसराइ गर्नुपर्ने अवस्था आएको चौदण्डीगढीबासी बताउँछन् । बसाइँ सरेर गएकाहरु जन्मस्थान फर्किन मन भए पनि खानेपानीको अभाव झेल्नुपर्ने बाध्यताले फर्किन सकिरहेका छैनन् ।

चौदण्डीबासीलाई एक गाग्रो पानी लिन बिहान ४ बजे नै देवीथानको गहिरो पुग्नुपर्छ । देवीथानको गहिरोमा पुगेर आफ्नो पालोमा पानी भरेर घर आइपुग्दा झन्डै तीन घन्टा बित्छ । जिल्लाकै ऐतिहासिक तथा पर्यटकीय स्थल भएर पनि खानेपानी अभावकै कारण चौदण्डीगढीका बासिन्दाको आर्थिक उन्नति हुन सकेको छैन ।

नजिकै मुहान नभएकाले पनि चौदण्डीका बासिन्दाले खानेपानीको ठूलो समस्या खेप्नुपरेको हो । सानो लगानीले खानेपानी व्यवस्था गर्न नसकिने भएकाले सोलार सिस्टमबाट सुनकोसीको पानी तान्ने र घैंटो निर्माण गरेर आकासे पानी संकलन गर्नुको विकल्प तत्काललाई नभएको डिभिजन कार्यालयका प्रमुख रामकुमार श्रेष्ठको भनाइ छ ।

चार हजार चार सय २३ जनसंख्या रहेको चौदण्डीगढीमा सात सय ३६ घरधुरीको बसोबास छ । यीमध्ये एक तिहाइले पनि पर्याप्त खानेपानी उपभोग गर्न पाएका छैनन् । अदुवा, अम्रिसो, सुन्तला, बेसार, कागती उत्पादनका लागि अनुकुल वातावरण भए पनि पानी अभावमा जमिन बाँझै राख्नुपर्ने अवस्था छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);