उदयपुरको चौदण्डीगढी नगरपालिकामा खानेपानीको समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

उदयपुरको चौदण्डीगढी नगरपालिकामा खानेपानीको समस्या

udaypur khanepani abhab

गोपाल पोखरेल
उदयपुर, २४ चैत । पर्याप्त खानेपानी नहुँदा उदयपुरको चौदण्डीगढी नगरपालिका १ को चौदण्डीगढी क्षेत्रमा स्थानीय वासिन्दालाई समस्या भएको छ । सडक र बिद्युत् पुगेपनि खानेपानीको व्यवस्था हुन नसक्दा गढी दरबार र आसपासका क्षेत्रमा पर्यटन प्रबद्र्धन गर्न समेत समस्या देखिएको छ ।

उदयपुरको ऐतिहासिक चौदण्डिगढी दरबार क्षेत्रमा खानेपानीको पर्याप्त सुविधा छैन । त्यहाँका सर्वसाधारणले एक गाग्री पानीका लागि एक घन्टा भन्दा बढी हिँडेर कुवामा पुग्नुपर्छ र पानी भर्न दुई घन्टा पर्खिनुपर्छ । तत्कालिन सेन बंशीय राज्यको राजधानी चौदण्डीगढी थियो । गढीमा सामरिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको भग्नाबशेषमा परिणत भईसकेको दरबार छ ।

पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपनि पानी अभावमा खासै आन्तरिक तथा बाह्य पर्यटक समेत आउन सकेका छैनन् । नगरपालिकाको सक्रियतामा सडक र बिद्युत बिस्तार भएपनि खानेपानीको पर्याप्त व्यवस्था हुन नसक्दा समस्या भएको स्थानीयको भनाई छ ।

उदयपुर जिल्लाकै प्रमृुख ऐतिहासिक तथा पर्यटकीय मानिने गढी क्षेत्रमा खानेपानीको व्यवस्थाका साथै भ्यू टावरको निर्माण कार्य भइरहेको चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईको भनाई छ ।

नेपालको इतिहास अनुसार विक्रम संवत् १७९० देखि जगत सेन, बिक्रम सेन, हरि सेन लगायतका चार पुस्ताले चौदण्डीगढी दरवारमा रहेर राज्य चलाएका थिए । मकवानपुर गढीका राजा हेमकर्ण सेनका माईला भाई जगत सेनले पुर्वी सिमानाको रेखदेखका लागि चौदण्डीगढी राज्यलाई अस्तित्वमा ल्याएका थिए ।

त्यसैले पनि त्यस क्षेत्रमा इतिहासको अध्ययन गर्न र घुमफिरका लागि आन्तरिक पर्यटकका साथसाथै बाह्य पर्यटकहरु समेत पुग्ने गर्छन् । तर खानेपानीको समस्याले गर्दा पर्यटकहरु त्यहाँ रमाउन सकेका छैनन् । खानेपानीको समस्या समाधान गर्न सकिए चौदण्डीगढीलाई आकर्षित पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने विज्ञहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);