बसाहा सिँचाइ कुलो पक्की बनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बसाहा सिँचाइ कुलो पक्की बनाइँदै

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-४ को बसाहास्थित पुरानो सिँचाइ कुलोलाई स्तरोन्नति गरिने भएको छ । स्थानीय किसानलाई व्यावसायिक कृषि खेतीबालीका लागि वर्षौदेखि चल्दै आएको कच्ची सिँचाइ योजनालाई दीर्घकालीन बनाउन पक्की स्तरोन्नति गर्न लागिएको हो ।

चौदण्डीगढी नगरपालिका-४ को तीन दोभाने पहरे खोलामा मुहान राखेर स्तरोन्नति गर्न लागिएको कुलो ५७ लाख रुपैयाँको लागतमा बन्न लागेको हो । कुलो स्तरोउन्नति गर्न नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको २०-२० प्रतिशत बजेट तथा ३० प्रतिशत साना सिँचाइ कार्यक्रम (एसआइपी) को लागत सहभागितामा योजना निर्माण हुन लागेको हो ।

स्वीस सरकारको सहयोगमा जिल्लामा सञ्चालित एसआईपीले सो योजामा २२ लाख ९९ हजार ८ सय ३८ रुपैयाँ बेहोर्ने जनाइएको छ । त्यस्तै चौदण्डीगढी नगरपालिका, प्रदेश सरकार र संघीय सरकार प्रत्येकले ११ लाख ५० हजार १ सय ६२ रुपैयाँका दरले ३४ लाख ५० हजार ४ सय ८६ रुपैयाँ बेहोर्ने नगर प्रमुख खगेन्द्र राईले जानकारी दिए ।

योजना निर्माणमा कुल लागतको १० प्रतिशत स्थानीय किसानको जनसहभागिता अनिवार्य गरिएको छ । यसरी कुल ५७ लाख ५० हजार रुपैयाँ लागतमा पक्की सिँचाइ कुलो निर्माण हुन लागेको नगरपालिकाले जनाएको छ ।

वर्षौँदेखि सञ्चालन हुँदै आएको सो बसाहा क्षेत्र कै सब भन्दा पुरानो सिँचाइ कुलो हाल सम्म कच्ची भएकाले वर्षायाममा पहिरो र बाढीले भत्काएर अवरोध हुने गरको थियो । वर्षेनी भत्कने तथा बिग्रने गर्दा किसानलाई समस्या पर्दै आएकोमा नगरपालिकाले कुलोलाई पक्की र दीर्घकालीन योजनाको रूपमा विकास गर्न चालु वर्ष बजेटको व्यवस्था गरेको हो । नगरपालिका एक्लैले सञ्चालन गर्न पर्याप्त श्रोत अभाव भएकाले प्रदेश, संघ र एसआइपीसँग साझेदारीमा पक्की कुलो बनाउन लागेको हो । 

बसाहा क्षेत्रका एक सय ७० घरधुरी परिवार लाभान्वित हुने कुलोको लम्बाइ एक हजार नाै सय मिटर रहेको छ । जसमध्ये एक हजार तीन सय मिटरसम्म पक्की ढलान हुनेछ भने बाँकी ६ सय मिटर भने यसअघिकै कुलोलाई स्तरोन्नति गर्ने कार्यक्रम रहेको फिल्ड सुपरभाइजर इन्जिनियर सन्तोष साहले बताए । उनका अनुसार कुलोको चौडाइ ५० सेन्टिमिटर र उचाइ ४० सेन्टिमिटर रहनेछ ।  

चौदण्डीगढी नगरपालिकाका ६५ प्रतिशत नागरिक कृषिमा आधारित भएर जीविकोपार्जन गर्दै आएको नगरपालिकाले जनाएको छ । कृषिलाई मुख्य पेसा भएकाले यसलाई व्यावसायिक र उद्यमको रूपमा विकास गर्न नगरपालिकाले हरेक क्षेत्रमा सहुलियत दिँदै आएको तथा प्राथमिक्तामा राखेर बजेट छुट्याउने गरेको जनाएको छ । नियमित पानी बगि रहने पहरे खोलामा मुहान बनाएर कुलो ल्याइने भएकाले यसले स्थानीय किसानको उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्यले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);