काठमाडौं, ३० फागुन । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समृद्व नेपाल निर्माणका लागि अब मुलकुमा दुई दल मात्रै रहनुपर्ने बताएका छन् । बुधवार बिजनेश प्लस टेलिभिजनले काठमाण्डौमा आयोजना गरेको सिइओ सम्मेलनको उद्घाटन शत्रमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले संविधानले नेपाललाई समाजवाद तर्फ उन्मुख गराएकाले अब मुलुकमा धेरै राजनीतिक दलको आवश्यकता नरहेको बताए ।
उनले अब सबै मिलेर देशको आर्थिक समृद्धिमा लाग्नु पर्नेमा जोड दिए । भट्टराईले पृथ्वीनारायण शाह, गौतम बुद्व, बिपी कोइराला र पुष्पलाललाई राष्ट्रिय व्यक्तित्व घोषणा गर्न पनि सरकारसँग माग गरे । सम्मेलनमा नेकपा एमालेका नेता रविन्द्र अधिकारीले अब आर्थिक समृद्धिले नै बिकासको ढोका खोल्ने भन्दै अबको नेपाल समृद्व नेपाल हुनुपर्ने बताए ।
सम्मेलनमा नेपाली कांग्रेसका नेता गगनकुमार थापाले समृद्ध नेपाल निर्माणका लागि राजनीतिक प्रतिवद्वता आवश्यक रहेको बताए । उनले दुई तिहाई समर्थन प्राप्त सरकारले दम्भ रहित ढंगले बिकासका गतिविधि अघि बढाउनुपनेमा जोड दिए ।
कार्यक्रममा पद्मा मिडिया प्रालि तथा बिजनेस प्लस टेलिभिजनका अध्यक्ष राजुप्रसाद कंडेलले स्वदेशी उत्पादनले बजार नपाएको अवश्थामा बिदेशबाट मालसामानहरु आयात भइरहेकोले नेपाली उत्पादनले सहज रुपमा बजार पाउनु पर्ने अवस्था सिर्जना हुनु पर्नेमा जोड दिएका छन् । सम्मेलनमा नेपाल सहित विभिन्न देशका १७ कम्पनीका सिइओहरुको सहभागिता रहेको छ ।




