सरकारको पूर्णता शुक्रबारभित्रै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारको पूर्णता शुक्रबारभित्रै

काठमाडौं, ३० फागुन । गत आइतबार दुईतिहाइभन्दा बढी मतले विश्वासको मत पाएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई शुक्रबारभित्र पूर्णता दिन गृहकार्य थालेका छन्। प्रतिनिधिसभाबाट विश्वासको मत लिई राष्ट्रियसभा अध्यक्ष र राष्ट्रपति निर्वाचन सम्पन्न गरेपछि मात्रै सरकारलाई पूर्णता दिने योजना अनुसार प्रधानमन्त्री ओलीले शुक्रबारभित्र सरकारलाई पूर्णता दिने गरी छलफल अगाडि बढाएका हुन्।

नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा मंगलबार राष्ट्रपति निर्वाचनमा मतदान गर्न पुगेका प्रधानमन्त्री ओलीले सम्बन्धित दलहरुसँग मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल जारी रहेको बताए। ‘मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउनेछ,’ ओलीले सञ्चारकर्मीसँग भने, ‘त्यसका लागि सम्बन्धित दलसँग छलफल चलिरहेको छ। चाँडै निष्कर्षमा पुग्नेछ।’ गत फागुन ३ गते प्रधानमन्त्री नियुक्त भए पनि ओलीले एक महिना हुन लागिसक्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन्।

प्रधानमन्त्री ओलीले सरकार विस्तारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि अनौपचारिक छलफल गरेका छन्। ओली सरकारमा एमाले, माओवादी र संघीय फोरममात्रै सहभागी हुने सम्भावना देखिएको छ । विश्वासको मत दिए पनि राजपाले तत्काल सरकारमा नजाने धारणा राखेपछि ओलीले तीन दलसँग मात्रै छलफल चलाएका हुन्।

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग मंगलबार बिहान छलफल गरेका थिए। ‘आजै मेरो प्रधानमन्त्रीसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो। अब एकदुई दिनमै सरकारले पूर्णता पाउनेछ,’ दाहालले सञ्चारकर्मीसँग भने । उनका अनुसार गृहकार्य तीव्र पारी तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिनेमा प्रधानमन्त्री ओली सहमत छन्।

माओवादी केन्द्रले सकेसम्म बिहीबारभित्रै पार्टीका तर्फबाट सरकारमा सहभागी हुने नेताहरुको नाम पठाउने प्रतिबद्धता दाहालले ओलीसँग व्यक्त गरेका छन् । माओवादी केन्द्रले सिनियर र क्षमतावान् नेतालाई सरकारमा पठाउने भएको छ । माओवादीको भागमा पाँचवटा मन्त्रालय परेको छ। ‘ गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, शक्ति बस्नेत, वर्षमान पुन, पम्फा भुसाल, बिना मगर र अमनलाल मोदीलगायत सरकारमा जाने सम्भावना छ’, दाहाल निकट स्रोतले भन्यो।

संघीय समाजवादी फोरम नेपालले गत फागुन २३ गते केन्द्रीय कार्यसम्पादन बैठकबाट सरकारमा जाने निर्णय लिए मन्त्रालयको भागबन्डा टुंगिएको छैन। मन्त्रालयबारे टुंगो नलागिसकेकाले थप निर्णय लिन नसकिएको अध्यक्ष उपेन्द्र यादवले बताए । ‘छलफल चल्दैछ, कुनै निर्णयमा पुगेका छैनौं,’ यादवले नागरिकसँग भने, ‘प्रधानमन्त्रीसँग छलफल गरेपछि मात्रै केही निर्णय लिन सकिएला।’

वाम गठबन्धनसँग संघीय फोरमले तीन वटा मन्त्रालयको माग गरे तापनि गठबन्धन भने २ वटा मन्त्रालय दिने अडानमा छ । तर, संघीय फोरम पनि सरकारमा आउने भएपछि हाल कायम १७ मन्त्रालयमध्ये २ वटा थप गरी व्यवस्थापन गर्न प्रधानमन्त्री ओली र दाहालबीच छलफल जारी छ।

तत्कालका लागि फोरमलाई कृषि तथा सहरी विकास मन्त्रालय दिने सहमति भए पनि औपचारिक टुंगो लागेको छैन । यद्यपि अध्यक्ष यादवको नेतृत्वमा मोहम्मद इस्तियाक राई र प्रदीप यादवलगायतका नेता ओली सरकारमा जाने सम्भावना बढी छ।

अर्को तराईमधेस केन्द्रित दल राजपाले भने संविधान संशोधन नभईकनसरकारमा सहभागी नहुने भएको छ। ‘अहिले राजपाका लागि सरकारभन्दा पनि मुद्दा प्रधान हो,’ अध्यक्ष मण्डलका नेता महेन्द्रराय यादवले नागरिकसँग भने, ‘हाम्रो पार्टी मुद्दा सम्बोधन गराउने प्रयासमा रहन्छ । मुद्दा सम्बोधन भएपछि सोच्न सकिन्छ ।’

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);