युएस बंगला विमान दुर्घटना : शव नचिनेर आफन्त अलमलमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

युएस बंगला विमान दुर्घटना : शव नचिनेर आफन्त अलमलमा

फूलमाया आले
काठमाडौं, २९ फागुन । त्रिभुवन विमानस्थलमा सोमबार भएको युएस बंगला विमान दुर्घटनामा मृत्यु भएका ५१ जनाको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । शव बुझ्न अस्पतालसम्म पुगेका मृतकका कतिपय आफन्त आफैँ अचेत अवस्थामा छन् भने कतिपय शव नचिनेर अलमलमा परेका छन् ।

सर्लाहीका अवधेशकुमार यादव बुवाआमाको नजिकै आइपुगेर पनि उनले उनीहरुलाई देख्न पाएनन् । सर्लाहीदेखि छोरोलाई लिन आएका बुवाआमाले पनि आफ्नो छोरालाई ज्युँदो देख्न पाउने त टाढैको कुरा भयो, मृत्यु भएको छारोको शव चिन्नै नसकिने अवस्थामामात्र भेटे । भर्खर २१ वर्ष भएका थिए अवधेशकुमार । घरको आर्थिक अवस्था कमजोर भएर उनी कतार गएका थिए ।

तर, भनेजस्तो काम नपाएपछि चार महिनामै उनी आफ्नै गाउँ फर्किएका थिए । त्यही अनुसार उनी सोमबार नेपाल आउँदै थिए । कतारबाट उनको ट्रान्जिट परेको थियो, बंगलादेशको ढाका । त्यहाँबाट उनी युएस–बंगलाको विमान चढेर काठमाडौंतिर आए । छोरो लिन आएका सर्लाही कविलासी नगरपालिका–३ का रामनारायण र सुमित्रादेवी अहिले त्रिवि शिक्षण अस्पतालको पेटीमा छोराको शव पर्खिरहेका छन । चार महिनाअघि कतार गएका अवधेशको घर छोड्ने बेला जन्मेकी उनकी छोरी चार महिनाकी मात्रै भएकी छन् ।

योङ ट्राभल एजेन्सी मार्फत बंगलादेशमा आयोजना भएको एक अवार्ड सम्मेलनमा सहभागी भएर फर्किएकी काठमाडौँ निवासी सजना देवकोटाका आफन्त पनि त्रिवि अस्पतालमा भावविहल अवस्थामा थिए । सजनाको ९ वर्षीय छोरी छन ।

सोमबार भएको बंगलादेशी विमान दुर्घटनामा बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गरिरहेका १४ जना विद्यार्थी परेका थिए । ती मध्येका एक श्रेया झा पनि हुन । महोत्तरी घर भई हाल काठमाडौको बल्खुमा बस्दै आएकी २३ वर्षीय श्रेया डाक्टर पढ्न विदेश गएकी थिइन् । छोरी बिदामा घर फर्कदा परिवारमा खुसीको सीमा थिएन । श्रेया बङ्गलादेशको कुमुदिनी उमन्स मेडिकल कलेजमा एमबिबिएस ५ औँ वर्षमा अध्ययनरत थिइन । उनको पढाई सकिन एक वर्ष मात्र बाँकी थियो । तर, उनको विमान दुर्घटनासँगै उनको जीवनमा पूर्णविराम लाग्यो । श्रेयाका बुवा लक्ष्मण झाको अनुहारमा पीडाको सीमा थिएन । उनी रसिलो आँखा लिएर शिक्षण अस्पतालमा छट्पटाइरहेका छन् ।

युएस बंगला एयरलाइन्सको विमान सोमबार दुर्घटनामा पर्दा २१ बंगलादेशी नागरिकको पनि मृत्यु भयो । ज्यान गुमाएका बंगलादेशी आफन्तको शव लिन बंगलादेशबाट मंगलबार दिउँसो टिचिङ अस्पताल पुगेका थिए ।

शिक्षण अस्पतालमा डिएनए परीक्षणसहितका प्रक्रिया पूरा गरेर आफन्तलाई शव बुझाउने प्रक्रिया हुनेछ । अस्पताल स्रोतका अनुसार विमानमा आगो लागेका कारण शव जलेकाले सनाखत गर्न मुस्किल हुने देखिएको छ । पोस्टमार्टम गर्दा पहिचान खुल्न नसक्ने शवहरुको डिएनए परीक्षण गरिने अस्पतालले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);