राष्ट्रियसभाका तीन सांसदले राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

राष्ट्रियसभाका तीन सांसदले राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने

काठमाडौं, २७ फागुन । कानुनी व्यवस्थाका कारण राष्ट्रियसभाका तीन जना सांसदले राष्ट्रपति निर्वाचनमा मतदान गर्नबाट बञ्चित हुने अवस्था आएको निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले कानुनी अडचनका कारण राष्ट्रियसभाका ३ जना सांसदले राष्ट्रपति निर्वाचनमा मतदान गर्नबाट बञ्चित हुने अवस्था आएको बताएका छन् ।

आईतबार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा राष्ट्रपति निर्वाचनका विषयमा राजनीतिक दलहरुसँग छलफल गर्दै उनले राष्ट्रियसभाका ३ जना सांसदहरुले सपथ गर्नु अघि नै राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरिएकाले अब त्यसमा थप गर्ने कानुनी व्यवस्था नरहेको स्पष्ट पारे ।

प्रमुख निर्वाचन आयुक्त यादवले सांसद भएर पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्नबाट बञ्चित हुनुपर्ने अवस्था रहेकोमा आयोग दुःखित रहेको बताए । उनले राष्ट्रपति निर्वाचन कानुन संशोधन गर्न पनि राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक भएपछि मात्रै राष्ट्रिय सभामा मनोनित सांसदहरु डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल राईले सपथ लिएकाले उनीहरु तीनै जनाले राष्ट्रपति निर्वाचनमा मत हाल्न नपाउने कानुनी व्यवस्था छ ।

आगामी मंगलबार हुने राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका ८ सय ८१ जना सांसदहरुले मतदान गर्नेछन ।

निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनको मिति कानुनीमै तोकिदिन पनि राजनीतिक दलहरुसँग आग्रह गरेको छ । निर्वाचनको मिति कानुनमै तोके निर्वाचनमा खर्च कम हुने पनि प्रमुख निर्वाचन आयुक्त यादवले स्पष्ट पारे ।

उनले निर्वाचन आयोग कम खर्चमै निर्वाचन सम्पन्न गराउन लागि परेपनि त्यस अनुसारको कानुनी व्यवस्था हुन नसकेको जनाएको छ । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई राष्ट्रपति निर्वाचनमा मत बदर हुन नदिन पनि सचेत हुन आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);