एजेन्सी, २४ फागुन । म्यानचेस्टर सिटी र युभेन्टस च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेका छन् । गएराति आफ्नो घरेलु मैदानमा बासेलसँग २–१ ले पराजित भएपनि पहिलो लेगको जितका आधारमा म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
म्यानचेस्टर सिटी पहिलो लेगमा ४–० विजयी भएको थियो । खेलको ८ औं मिनेटमा गाब्रियल जिससको गोलमा अग्रता लिएपनि अधिकांश स्टार खेलाडीलाई बेन्चमा राखेको म्यानचेस्टर सिटीले अग्रता कायम राख्न सकेन । बासेलले खेलको १७ र ७१ औं मिनेटमा गोल गरेर म्यानचेस्टर सिटीलाई पराजित गरेको हो । म्यानचेस्टर सिटीले सन् २०१६ पछि घरेलु मैदानमा पहिलोपटक हार व्यहोरेको हो ।
गएराति नै भएको अर्को खेलमा टोटनह्यामलाई २–१ ले पराजित गर्दै युभेन्टस पनि अन्तिम आठमा प्रवेश गरेको छ । युभेन्टसले एक गोलले पछि परेको अवस्था उल्टाउँदै तीन मिनेटको अन्तरमा दुई गोल गरेर अन्तिम आठको यात्रा तय गरेको हो । पहिलो लेगमा यी दुई क्लबले २–२ गोलको बराबरी खेलेका थिए ।