काठमाडौं, २१ फागुन । पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासीलाई सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ । सोमबार काठमाडौं आएका पाकिस्तानका प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले गार्ड अफ अनरको सम्मान दिएको हो । त्यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी समकक्षी अब्बासीलाई स्वागत गरेका थिए ।
यसअघि त्रिभुवन विमानस्थलमै गार्ड अफ अनर दिने गरिएकाेमा प्रधानमन्त्री ओलीको निर्देशनमा सैनिक मञ्चमा गार्ड अफ अनर दिने तय गरिएको हो । टुँडिखेलमा गार्ड अफ अनर पाउने पहिलो विदेशी पाहुना अब्बासी भएका छन् ।
पाकिस्तान एयर फोर्सको विशेष विमानबाट काठमाडौं आएका अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
नेपालको दुई दिने औपचारिक भ्रमणका लागि पाकिस्तानी प्रधानमन्त्री अब्बासी सोमबार अपरान्ह नेपाल आएका हुन् । प्रधानमन्त्री ओलीलाई बधाई दिन र सार्क शिखर सम्मेलनका बारेमा छलफल गर्न अब्बासी नेपाल आएका हुन् ।
उनले आज साँझ प्रधानमन्त्री ओलीसँग द्धिपक्षीय छलफल गर्दैछन् । भोली विहान राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेट गरेपछि पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश फर्कने कार्यक्रम रहेको पराष्ट्र मन्त्रालयले जनाएको छ ।