काठमाडौं, २० फागुन । नयाँ सरकारले राष्ट्रिय सभामा मनोनित गरेका तीन जनासम्बन्धी मुद्दाको सुनुवाई स्थगित भएपछि आज उनीहरुले संसद सदस्यको सपथ लिन नपाउने भएका छन् ।
सर्वोच्च अदालतले आजका लागि पेसी तोक्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । सर्वोच्चका न्यायाधीश प्रकाश राउतको इजलासले अन्तरकालीन आदेश जारी गरेकाले उनले नै मुद्दा फेर्न नमिल्ने भन्दै निवेदक पक्षका अधिवक्ता बाबुराम जोशीले कुरा उठाएपछि इजलास स्थगित भएको हो । राष्ट्रियसभा सदस्यमा मनोनित सदस्यसम्बन्धी मुद्दाको सुनुवाइका लागि न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाश राउतको इजलास तोकिएको थियो ।
कांग्रेस नेतृत्वको सरकारले गरेको सिफारिस उल्ट्याउँदै नयाँ सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. युवराज खतिवडा, रामनाराश जारयण विडारी र डा. विमला पौडेललाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् । त्यसअघि देउवा सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई मनोनित गर्न सिफारिस गरेको थियो ।
विवाद अदालतमा पुगेपछि फागुन १३ गते न्यायाधीश प्रकाश राउतको एकल इजलासले राष्ट्रियसभा सदस्यमा मनोनित तीनैजनाको शपथ तत्कालका लागि रोक्न आदेश दिएको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको शपथ आज हुँदैछ ।




