सन्दीपले क्यारेबियन लिग पनि खेल्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

सन्दीपले क्यारेबियन लिग पनि खेल्ने

sandeep lamichane

काठमाडौं, १९ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सको प्रतिनिधित्व गर्ने भएका छन् । सीपीएल वेस्ट इन्डिजको आधिकारिक फ्रेन्चाइजमा आधारित टान्टी–२० क्रिकेट लिग हो ।

बिहीबार सम्पन्न खेलाडी ड्राफ्टमा प्याट्रियट्सले सन्दीपलाई १३ औं राउन्डमा ५ हजार अमेरिकी डलर खर्चेर टोलीमा समेटेको हो । गत महिना इन्डियन प्रिमियर लिग (आईपीएल) को दिल्ली डेयरडेभिल्ससँग आबद्ध सन्दीप विश्व क्रिकेट लिग डिभिजन २ मा १७ विकेट लिँदै प्लेयर अफ द सिरिज भएका थिए । आईपीएलझै सन्दीप सीपीएल खेल्ने पनि पहिलो नेपाली खेलाडी हुन् ।

लन्डनमा सम्पन्न खेलाडी ड्राफ्टमा कुल ३ सय ४८ खेलाडीको नाम अन्तिम सूचीमा परेको थियो । जसमध्ये सन्दीप २ सय २७ विदेशी खेलाडीमध्ये एक थिए । लिगको अन्तिम ड्राफ्टमा पाकिस्तानका ५३ तथा श्रीलंकाका ३२ खेलाडी समावेश थिए । ड्राफ्टको नियमानुसार प्रत्येक टोलीले पालैपालो १८ राउन्डसम्म खेलाडी छनोट गर्ने प्रावधान थियो । पहिलो चरणका खेलाडीले सर्वाधिक १ लाख ६० हजार अमेरिकी डलर तथा अन्तिम तीन चरणका खेलाडीले ३–३ हजार डलरसम्म बुझेका थिए ।

सन्दीपको नाम १३ औं चरणमा आएका कारण प्याट्रियट्सले उनलाई ५ हजार डलर पारिश्रमिक दिनेछ । ड्राफ्टमा छनोट भएपछि सन्दीपले टवट गर्दै उत्साह बाँडेका छन् । ‘प्याट्रियट्स खेलाडीका रूपमा सीपीएल खेल्न निकै उत्साही छु । ममाथि विश्वास राखेकामा टोलीलाई धन्यवाद दिन चाहन्छु । सबै समर्थक एवं शुभचिन्तकलाई धन्यवाद,’ उनले भनेका छन् ।

सन् २०१३ देखि सुरु सीपीएलमा ६ टोलीको सहभागिता रहँदै आएको छ । तेस्रो संस्करणदेखि सहभागिता जनाएको प्याट्रियट्स गत संस्करणको उपविजेता हो । त्यसअघि दुई संस्करणमा प्याट्रियट्स अंकतालिकाको पुछारमा थियो । टोलीले कप्तान क्रिस गेलसँगै एभिन लेविसलाई पनि यसपालि टोलीमा समेटेको छ । प्याट्रियट्ससँगै लिगमा डिफेन्डिङ च्याम्पियन ट्रिनबेगो नाइट राइडर्स, जमैका तल्लावाज, सेन्ट लुसिया स्टार्स, बार्बेडस ट्राइडेन्ट्स र गुएना अमेजन वारियर्सले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता अगस्ट ८ देखि सेप्टेम्बर १६ सम्म हुनेछ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);