काठमाडौँ ।
नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेल साढे १२ बजे शिर्ष स्थानको लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्ले प्रतिष्पर्धा गर्नेछ । जनकपुरको चार खेलमा ४ अंक रहेको छ । दुई जित र दुईमा हार व्यहोरेको जनकपुर प्लेअफको यात्रा कायम राख्नका लागि आज जित्नैपर्ने दबाबसहित मैदान उत्रिनेछ । त्यस्तै लुम्बिनीले हालसम्म तीन खेलमा दुई जित र एक खेल वर्षाका कारण अंक बाँडेको छ । लुम्बिनीको पाँच अंक छ । लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई पहिलो खेलमा पराजित गरेको थियो भने दोस्रो खेल चितवन राइनोजसँग वर्षाका कारण अंक बाँडेको थियो । तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको लुम्बिनी उच्च मनोबलका साथ चौथो खेल जितेर शिर्ष स्थानमा रहन चाहन्छ । जनकपुर पहिलो खेलमा कर्णालीसँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाण्डु गोर्खाज र तेस्रो खेलमा पोखरालाई पराजित गरेको थियो । चौथो खेलमा विराटनगरसँग पराजित भएको थियो । त्यस्तै साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाण्डु गोर्खाजले विराटनगर किंग्सको सामना गर्नेछ । चार खेलमा चार अंक जोडेको विराटनगर दोस्रो स्थानमा रहेको छ । विराटनगर पाँचौँ खेल जितेर विजयी यात्रा कायम राख्न चाहन्छ । विराटनगरले पहिलो खेलमा चितवन राइनोज र दोस्रो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चौथो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । यता काठमाण्डुको भने यो तेस्रो खेल हो । काठमाण्डुले पहिलो खेलमा जनकपुरसँग पराजित भएको थियो भने दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो ।




