वाम गठबन्धनलाई फोरम किन चाहियो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वाम गठबन्धनलाई फोरम किन चाहियो ?

upendra

काठमाडौं,१६ फागुन । एमाले माओवादी वाम गठबन्धनलाई केन्द्रमा सरकार सञ्चालनका लागि प्रतिनिधिसभाका कुल १३७ सांसद आवश्यक पर्छ। वाम गठबन्धनसँग संसद्को २७५ सदस्यमध्ये १७४ अर्थात् ६३ दशमलव २७ प्रतिशत मत छ।गठबन्धनसँग दुईतिहाइ नजिक मत रहँदा पनि यी दुई दलले १६ सिट रहेको संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल गरिरहेका छन्।

सरकारमा सहभागिताका लागि फोरम एमालेबीच बुधबार निर्णायक वार्ता हुने सम्भावना छ। वार्तामा दुई पक्षबीच सहमति जुटे फोरम सरकारमा सहभागी हुने संघीय फोरमका सहअध्यक्ष राजेन्द श्रेष्ठले बताए।

किन ल्याउन चाहन्छन् फोरमलाई सरकारमा
एमाले माओवादीले संघीय फोरमलाई किन निर्णायक बनाउँदै सरकारमा सहभागी गराउन खोजिरहेका छन् गठबन्धन स्रोत भन्छ, ‘अन्तर्राष्ट्रिय रूपमा नेपालमा बनेको अहिलेको सरकार वामपन्थीको मात्र होइन भन्ने सन्देश दिन, राष्ट्रिय सरकारको स्वरूप दिन र संविधान संशोधनमा दुईतिहाइ जनमत निर्माण गर्न एमाले माओवादीले फोरमलाई सरकारमा सहभागी गराउन खोजेका हुन्।

त्यसैका लागि प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन परिणाम आएदेखि नै फोरम अध्यक्ष उपेन्द्र यादवसँग चरणबद्ध छलफल गर्दै आएका हुन्। एमाले माओवादीले संसद्मा रहेका प्रमुख प्रतिपक्षी कांग्रेस र राष्ट्रिय जनता पार्टीलाई छाडेर तीन शक्तिको सरकार गठन प्रयास गरेका हुन्।

प्रदेश २ मा फोरमले पनि राजपासँग मिलेर चुनाव लडेको थियो। तर, अहिले एमाले माओवादीले राजपा फोरम गठबन्धनभित्रबाट पनि फोरमलाई मात्र सरकारमा ल्याउन खोजेको हो। माओवादी केन्द्रका नेता श्रेष्ठ भन्छन्, ‘गठबन्धनको ध्येय प्रमुख प्रतिपक्षी कांग्रेस र गठबन्धनको नीतिमा पूरै असहमत पक्षबाहेक अन्य पक्षलाई सरकारमा ल्याउन प्रयास गर्नु हो।’

उनका अनुसार कांग्रेसलाई विशिष्ट अवस्थामै राख्नुपर्छ। त्यस्तै, हाम्रो नीतिसँग मेल नखाने पार्टीलाई पनि सरकारमा सहभागी नगराउने कुरा स्वाभाविक हुन्छ। तर, अरू पक्षलाई सरकारमा ल्याउने कुरा राष्ट्रिय हितमै हुन्छ। श्रेष्ठले भने, ‘फोरमले समाजवादी कार्यक्रम राखेको छ, हामीसँग मिल्दोजुल्दो नै देखिन्छ, उसलाई मधेसमा राम्रो शक्तिमा पनि गनिन्छ, त्यस्तो शक्तिलाई सरकारमा ल्याउने कुरा राष्ट्रिय हितमै हुन्छ भनेर पहल गरिएको हो।’

एमाले सचिव भट्टराईले बलियो सरकार निर्माणका लागि फोरमलाई सरकारमा ल्याउन लागिएको बताए। ‘सरकारमा सबैको प्रतिनिधित्व होस्, काम गर्न सजिलो होस्, स्थायित्व र बलियो सरकारका लागि फोरमलाई सरकारमा ल्याउन खोजिएको हो,’ सचिव भट्टराईले भने।

राजपालाई नल्याइने
वाम गठबन्धनले फोरमलाई सरकारमा ल्याउन चाहे पनि फोरमसँगै गठबन्धनमा रहेको राष्ट्रिय जनता पार्टी राजपालाई भने सरकारमा नल्याउने भएका छन्। राजपासँग नीति नै नमिल्ने भएका कारण गठबन्धनले उसलाई सरकारमा ल्याउन चाहेको छैन। आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);