संसदमा ओली सरकारलाई दुई तिहाइ बहुमत | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संसदमा ओली सरकारलाई दुई तिहाइ बहुमत

kp oli

काठमाडौं, १९ जेठ । संघीय समाजवादी फोरम सरकारमा सहभागी भएसँगै संसदमा सरकारको दुई तिहाइ बहुमत पुगेको छ । यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकल बहुमतको सरकार थियो । स्पष्ट बहुमत हुँदाहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले फोरमलाई किन सरकारमा ल्याउनुभयो भन्नेमा आमचासो बढेको छ ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा सरकारको स्पष्ट बहुमत अर्थात १ सय ७४ सांसद थिए । तर, फोरमको सहभागीतापछि उसका १६ सांसद थपिएका छन् । अब सरकारसँग दुई तिहाइ अर्थात १ सय ९० सांसद पुगेका छन् । संसदमा दुई तिहाइका लागि ६६ प्रतिशत मत आवश्यक भएपनि सरकारले कुल मतमा ६९ प्रतिशत मत जुटाएको छ ।

यसरी स्पष्ट बहुमत हुँदाहुँदै फोरमलाई सरकारमा सहभागी गराउनुको कारण के हो त? प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने कागजी सहमति गरेरै फोरमलाई सरकारमा भित्र्याउनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको निश्चित स्वार्थ रहेको टिप्पणी गरेको छ ।

कम्युनिष्ट एकताको कुरा उठेदेखि नै मुलुकमा अधिनायकवाद आउने बताउँदै आएको कांग्रेस वाम गठबन्धनको सरकारमा फोरम पनि सहभागी भएपछि थप शशंकित बनेको हो ।

संविधान संशोधन गर्ने सहमतिसहित सरकारमा सहभागी भएको फोरम कांग्रेसको आरोपमा कुनै तुक नरहेको बताउँछ । बरु संविधान संशोधन भएपछि राजनीतिक वातावरण अझ स्वस्थ हुने र मुलुक समृद्धि अभियानले गति लिने उसको भनाइ छ ।

राजनीतिक विश्लेषकहरु पनि दुईतिहाइ मत जुट्दैमा अधिनायकवाद आउँछ भन्नु गतल भएको बताउँछन् । उनीहरुका अनुसार नेपालको भूराजनीतिक वातावरणका कारण पनि अधिनायकवादको सम्भावना छैन । फोरमको सहभागीतासँगै सरकार समावेशी बनेको विश्लेषक लोकराज बरालको भनाइ छ ।

टिप्पणी जेजस्ता आएपनि ‘समृद्ध नेपाल सुखी नेपाली’ अवधारणालाई सार्थक तुल्याउन सरकारसँग अब ‘फूल पावर’ छ । दुई तिहाइ मतको सदुपयोग गर्न सके सत्तारुढ दलसँगै मुलुककै लागि त्यो फलदायी हुन सक्छ ।

किनकी २०१५ सालमा बिपी नेतृत्वको कांग्रेस सरकारपछि ५९ वर्षमा पहिलोपटक ओली सरकारसँग दुई तिहाई मत पुगेको छ र अहिले उसलाई जनताले राजनीतिकभन्दा आर्थिक एजेण्डामा केन्द्रित हुने म्याण्डेड दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);