बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद

काठमाडौँ ।

उत्तरी गोरखाको हिमाली भेगमा हिउँपहिरो खसेपछि बुढीगण्डकी नदीमा आएको आकस्मिक तथा भीषण बाढीले आरुघाटस्थित पुल बगाएको छ ।
बाढीले जलसतहको खतरा तह निकै माथि पार गरेपछि धादिङ र गोरखा जोड्ने मुख्य सडक सम्पर्क विच्छेद भएको हो । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखा, धादिङ, तनहुँ हुँदै चितवनसम्मका तटीय क्षेत्रमा उच्च शतर्कता अपनाउन निर्देशन दिएको छ । गोरखाको चुमनुब्री गाउँपालिकास्थित लोक्पा र चुमलिङ क्षेत्रमा हिउँपहिरो खसेर नदी थुनिँदै र फुट्दै आएपछि बुढीगण्डकीमा लेदोसहितको भयानक बाढी आएको हो । आईतवार सिंहदरबारस्थित कार्यालयमा जानकारी दिँदै प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढीका कारण आरुघाट बजार क्षेत्र जलमग्न भएको र धादिङ जोड्ने पुल बगेको पुष्टि गर्नुभयो । उहाँकाअनुसार बाढीले शाहस ऊर्जा कम्पनीको तल्लो संरचनामा क्षति पु¥याएको छ भने त्यहाँ कार्यरत १८ जना प्राविधिक तथा कर्मचारी सुरक्षित स्थानतर्फ सरेका छन् ।
बाढीको प्रभाव क्षेत्रमा सेनाको हेलिकप्टरमार्फत हवाई निरीक्षण (रेकी) भइरहेको छ भने उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको प्रमुख उप्रेतीले बताउनु भयो । डा. उप्रेतीले मौसम प्रतिकुल भएकाले तत्काल हेलिकप्टर अवतरण गर्न नसकिए पनि उच्च जोखिममा परेका नागरिकहरूलाई सुरक्षित स्थलमा सार्ने काम भइरहेको बताउनु भयो ।  उत्तरी क्षेत्रका सल्लेरी र जगत बजारमा केही घर तथा सवारीसाधन बगाएको प्रारम्भिक सूचना प्राप्त भएको र त्यसको विस्तृत विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ । समयमै पूर्वसूचना जारी गरिएकाले तल्लो तटीय क्षेत्रका बस्तीहरू तत्काल खाली गराउन सकिएको र अहिलेसम्म कुनै मानवीय क्षति नभएको प्राधिकरणको दाबी छ । प्राधिकरणले बेनिघाट, मलेखु तथा त्रिशूली नदी तटीय क्षेत्र हुँदै चितवनसम्मका बजार र बस्तीहरूलाई उच्च जोखिममा राख्दै स्थानीयलाई डाँडापाखातर्फ जान आग्रह गरेको छ ।

विपद् व्यवस्थापन प्राधिकरणले अहिलेको पहिलो प्राथमिकता जीवन रक्षा (लाइफ सेभिङ) रहेको स्पष्ट पारेको छ । जोखिमयुक्त नदी किनारमा गएर भिडियो तथा तस्बिर खिच्ने, बाढी हेर्न भीडभाड गर्ने वा नदीले बगाएर ल्याएका दाउरा र सामान संकलन गर्ने जस्ता जोखिमपूर्ण गतिविधि नगर्न आम नागरिकलाई कडा चेतावनीसहित अपिल गरिएको छ ।

Leave a Reply