काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ ।नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट असोज १३ गते भएको सिफारिशअनुसार राष्ट्रपति पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो । राष्ट्रपति कार्यालयलबाट जारी विज्ञप्तिमा २०८३ साल असोज १६ गते शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गरेको उल्लेख छ । संघीय संसद्को चालु अधिवेशन २८ वैशाख २०८३ सालदेखि सुरु भएको हो । चालु अधिवेशनमा सरकारले ल्याएका बजेट र बजेटसँग सम्बन्धित कानुनहरू बनेका छन् । यसबाहेक सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेश स्वीकृत भएका छन् । स्वीकृत अध्यादेशहरूले संशोधन गरेका विषय समेटेर अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा आएर पास भएर ऐनमा रूपान्तरित भएका छन् । मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन र समसामयिक विषयमा सरकारको तर्फबाट मन्त्रीहरूले सम्बोधन गर्ने लगायतका कार्य भए । तर प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने यसैबीच हुन सकेको छैन ।
यसैबीच संघीय संसद्का दुवै सदनको अन्तिम बैठक आज बस्दैछ । बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ अनुसार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूबाट प्राप्त अनुपस्थितिको सूचना सभाको स्वीकृतिका लागि पेस गर्नुहुने छ । यसैगरी सभामुखले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनु हुनेछ । राष्ट्रियसभाको बैठक अपराह्न सवा १ बजे बस्ने छ । आजको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तरहरू सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची छ





