देश/समाज

नेपाल एयरलाइन्सको जहाज मर्मतमा ८ अर्बको सकसः नीतिगत अवरोध हटाउन निगमको आग्रह

काठमाडौँ ।

नेपाल वायुसेवा निगमले चारवटा इन्जिन मर्मतका लागि करिव ८ अर्ब रुपैयाँको आवश्यकता औंल्याउँदै खरिद प्रक्रियामा रहेको नीतिगत जटिलता फुकाइदिन सरकारसँग आग्रह गरेको छ । शुक्रवार बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रवन्धक जनकराज कालाखेतीले विद्यमान कानूनी प्रावधानका कारण इन्जिन मर्मत र खरिद कार्यमा अवरोध सिर्जना भएको बताउनुभएको हो । निगमले हाल भोगिरहेको प्राविधिक र वित्तीय संकटबारे जानकारी दिँदै निमित्त महाप्रवन्धक कालाखेतीले बिड बन्ड, पर्फर्मेन्स बन्ड र अग्रिम भुक्तानीसँग सम्बन्धित कानुनी प्रावधानहरूले काममा गम्भीर असर पु¥याइरहेको बताउनु भयो । हालै प्राविधिक समस्याका कारण वाइडबडी जहाज ग्राउन्डेड हुँदा निगमले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ । जापान उडानका क्रममा देखिएको समस्याले करिव २४ करोड रुपैयाँ बराबरको राजश्व गुमेको छ भने इटालीमा मर्मतका क्रममा रहेको अर्को जहाजमा समेत थप प्राविधिक जटिलता देखिएको छ । सो समस्या समाधान गर्न हाल पाट्र्स लिजमा लिएर जहाज सञ्चालनको प्रयास भइरहेको निगमले जनाएको छ । संसदीय समितिमा बोल्दै उहाँले वायुसेवाको समस्यालाई केवल नाफा–घाटाको साँगुरो घेराबाट मात्र हेर्न नहुने जिकिर गर्नुभयो ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी बन्न फ्लीट विस्तार र आधुनिकीकरण अपरिहार्य रहेको बताउँदै उनले दुर्गम क्षेत्रको सेवालाई समेत निरन्तरता दिनुपर्ने बाध्यता रहेको स्पष्ट पार्नुभयो । बैठकमा वर्षौंदेखि थन्किएका चिनियाँ निर्मित एमए–६० र वाई–१२ जहाजहरूको व्यवस्थापनबारे पनि गम्भीर विमर्श भएको छ । व्यावसायिक रूपमा सञ्चालन गर्न नसकिएका ती जहाजहरूलाई विक्री गर्ने, लिजमा दिने वा अन्य कुनै विकल्प अपनाउनेबारे यथाशिघ्र निष्कर्षमा पुग्नुपर्ने आवश्यकता देखिएको छ । निगमले कर्पोरेट पुनर्संरचना, पुँजी वृद्धि र निष्क्रिय सम्पत्तिको उचित व्यवस्थापनका लागि संसदीय समितिबाट स्पष्ट मार्गदर्शन र नीतिगत निर्णयको अपेक्षा गरेको छ ।

Related Post
Share

This website uses cookies.