जहाज थपेर मात्र सुधार सम्भव छैन–मन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८३, शुक्रबार

जहाज थपेर मात्र सुधार सम्भव छैन–मन्त्री पौडेल

काठमाडौँ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले संरचनागत सुधार नगरी नेपाल वायुसेवा निगममा थप जहाज भित्र्याउनुको औचित्य नहुने स्पष्ट पार्नुभएको छ । शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले निगमको वर्तमान प्रशासनिक ढाँचा र व्यवस्थापकीय कमजोरीमा सुधार नआएसम्म जहाज थपेर मात्रै निगमको साख उकास्न नसकिने दाबी गर्नुभएो हो । मन्त्री पौडेलले निगम लामो समयदेखि राजनीतिक हस्तक्षेप र गलत व्यवस्थापकीय परिपाटीको शिकार बन्दै आएको स्वीकार गर्नुभयो । उहाँले हाल निगममा देखिएको कानूनी जटिलताका कारण महाप्रवन्धक नियुक्तिको प्रक्रिया अवरुद्ध भएको जानकारी दिनुभयो । महाप्रवन्धक नियुक्तिसम्बन्धी विषय अदालतमा विचाराधीन रहेकाले तत्कालका लागि निमित्त वा बोर्डकै कुनै सदस्यलाई जिम्मेवारी दिएर चलाउनुपर्ने बाध्यात्मक अवस्था रहेको उहाँको भनाइ छ ।

मन्त्री पौडेलले बोर्डले नियमनकारी र कार्यकारी दुवै भुमिका एकसाथ निर्वाह गर्दा थप समस्या उत्पन्न हुन सक्नेतर्फ सचेत गराउनु भयो । यद्यपि, आफू निगम सुधारका लागि सकारात्मक राजनीतिक हस्तक्षेपको पक्षमा रहेको उहाँले जिकिर गर्नुभयो । निगमको कमजोर व्यवस्थापनले गर्दा एउटा जहाजमा समस्या आउँदा पनि सम्पूर्ण उडान तालिका प्रभावित हुने र यात्रु व्यवस्थापनका लागि ठूलो आर्थिक नोक्शानी व्यहोर्नुपर्ने अवस्था रहेको मन्त्री पौडेलले बताउनु भयो ।  हाल ६ वटा जहाज रहेको निगममा व्यवस्थापकीय दक्षताको कमी र सही समयमा सही निर्णय लिन नसक्ने संयन्त्र मुख्य बाधक रहेको उहाँको टिप्पणी छ । हाल निगमको संरचनागत सुधारका लागि आवश्यक कागजात र कार्ययोजना तयार भइरहेको मन्त्री पौडेलले जानकारी दिनुभयो । उक्त सुधारको योजना छिट्टै संसदीय समितिमा पेश गरिने र त्यसलाई कार्यान्वयनमा ल्याएपछि मात्रै जहाज थपको प्रक्रिया अघि बढाउने उनले प्रतिवद्धता व्यक्त गर्नुभयो । –

Leave a Reply

ताजा समाचार