नेपाल वायुसेवा निगम अव्यवस्थाले थिल्थिलो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाल वायुसेवा निगम अव्यवस्थाले थिल्थिलो

nepal bayu sewa nigam

काठमाडौं, १२ साउन । प्रसङ्ग १
“आफैँ चलाउन नसके ‘स्ट्राटेजिक पार्टनर’ ल्याउनुस् तर यथास्थितिमै भने एक पैसा दिन सकिन्न”, नेपाल वायुसेवा निगमको ६१औंँ वार्षिकोत्सवका अवसरमा असार १६ गते राजधानीमा आयोजित औपचारिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ हो यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्रीको प्रश्न पनि थियो, “देशका बाँकी सबै विमान कम्पनी नाफामा जाने, निगमचाहिँ किन सधैँ घाटामा ? आकाशमा उड्नुपर्ने जहाज सधँै किन एयरपोर्टमा मात्र देखिन्छन् ?”

प्रसङ्ग २
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आर्थिक वर्ष २०७५/७६ मा संस्था घाटामा जान सक्ने प्रक्षेपण सुनाएपछि संसद्को अर्थ समितिको असार २७ को बैठकमा सांसद घनश्याम भुसालले भन्नुभयो, “सार्वजनिक संस्थान किन घाटामा जान्छन् र सुध्रिन सक्दैनन् भन्ने ‘केस स्टडी’का लागि निगम उपयुक्त हुन्छ । ” विद्यार्थी राजनीतिबाटै निगमका अनेक काण्ड सुन्दै आएको र अहिले पनि त्यस्तै सुन्नुपर्दा सार्वजनिक संस्थानको सुधारका लागि नीतिगत झट्का नै आवश्यक रहेको उहाँको भनाइ थियो ।

विश्वास रेग्मी

काठमाडौंँ, साउन १२ गते । स्थापनाकालदेखि अहिलेसम्म विभिन्न समयका जहाज खरिद प्रक्रियामा भएको अनियमितताका कारण आलोचित हुँदै आएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम यति बेला मुख्य दुई कारणले आलोचित छ, कमजोर व्यवस्थापन अनि भएकै जहाज उडान भर्न नसकेर ।

निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि एयरबस कम्पनीका दुईवटा न्यारोबडी (३२०–२००) र दुईवटा वाइडबडी विमान (३३०–२००) छन् । अर्को एउटा बोइङ ७५७ बेचबिखनको प्रक्रियामा छ । आन्तरिक उडानतर्फ तीनवटा ट्विनअटर, ५६ सिटे दुईवटा एमए ६० र १७ सिटे चारवटा वाई १२ छन् । सानाठूला सबै गरेर निगमसँग अहिले १३ वटा जहाज छन् ।

अघिल्लो आर्थिक वर्ष भदौमा निगमले सार्वजनिक गरेको श्वेतपत्रमा निगमको मासिक सञ्चालन घाटा करिब ३२ करोड रुपियाँ पुगेको छ । परिस्थिति अहिले पनि योभन्दा फरक छैन । अर्थ समितिमा कार्यकारी अध्यक्षले प्रस्तुत गरेका अनुमानित तथ्याङ्कअनुसार निगम गत आर्थिक वर्षमा करिब चार अर्ब ७५ करोड रुपियाँ घाटामा गएको छ ।

आन्तरिक उडानका लागि ल्याइएका जहाजहरू लामो समय ‘ग्राउन्डेड’ भइरहनु, लामो दूरीको गन्तव्यका लागि ल्याइएको वाइडबडीले अहिलेसम्म योजनाअनुसारका गन्तव्यमा उडान गर्न नसक्नु निगमको आलोचनाका थप कारणहरू हुन् । यही परिस्थितिमा निगमले अहिले सरकारसँग आफ्नो चुक्तापुँजी करिब ३८ करोड रुपियाँबाट बढाएर २० अर्ब रुपियाँ पु¥याउन माग गरिरहेको छ । प्रधानमन्त्री र सांसद भुसालको टिप्पणी निगमको यही परिस्थितिमाथि थियो ।

त्यसो त निगमले अहिले विभिन्न आठवटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ । निगमकै दाबीअनुसार प्रतिउडान यात्रु सङ्ख्या औसत नै छ । चार लाख ९३ हजार यात्रुसहित सन् २०१८ मा नेपालमा अन्तर्राष्ट्रिय यात्रु उडान गर्ने कम्पनीमा पनि निगम सबैभन्दा अगाडि छ ।

कुल अन्तर्राष्ट्रिय यात्रु सङ्ख्याको करिब १२ प्रतिशत निगमले नै बोक्ने गर्छ तर पनि निगम आर्थिक व्ययभारले थिलथिलो बन्दै गएको छ । यसका पछाडि नेतृत्वको कमजोर व्यवस्थापनलाई मुख्य कारण मान्नुहुन्छ अर्थशास्त्री डा. शङ्कर शर्मा । राष्ट्रि««य योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका डा. शर्मा निगममा रणनीतिक साझेदार भिœयाउने सन्दर्भमा अध्ययन गर्न सरकारले गठन गरेको टोलीका संयोजकसमेत हुनुहुन्छ । उहाँको भनाइ छ, “उडानसँग असम्बन्धित व्यक्तिलाई बारम्बार नेतृत्व दिएकै कारण निगमको वास्तविक समस्या समाधान हुन सकेको छैन । ”

राजनीतिक स्वार्थमा निगमको नेतृत्व परिवर्तन भइरहने र त्यही आडमा सम्बन्धित मन्त्रालयप्रति नेतृत्व अनुत्तरदायी बन्ने प्रवृत्तिले निगममा चाहेको सुधार हुन नसकेको उहाँले बताउनुभयो । निगम यति बेला वाइडबडी जहाजमार्फत जापान उडानको तयारीमा छ । त्यस्तै चीन उडानलाई पनि प्राथमिकतामा राखेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);