काठमाडौँ ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को बिग्रँदो अवस्था सुधार गर्न हतारमा निर्णय लिनुभन्दा विज्ञहरूको सहभागितामा एक्सन रिसर्च’ गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद विश्वकर्माले निगमको ऋण, कानूनी अड्चन र प्रशासनिक संरचनाको गहिरो अध्ययन आवश्यक रहेको बताउनुभएको हो । सांसद विश्वकर्माले नेपाल एयरलाइन्सको व्यवस्थापनमा देखिएको विरोधाभासलाई चिर्न ठोस कार्ययोजनाको खाँचो औंल्याउनु भयो । निगमको समस्या समाधानका लागि मन्त्रीस्तरीय तहमै भइरहेका टीकाटिप्पणीप्रति इंगित गर्दै उहाँले आधारहीन निर्णय गर्दा कानूनी झमेला निम्तने चेतावनी दिनुभयो । पर्यटन प्रवद्र्धनमा देखिएका कानूनी जटिलताको उदाहरण दिँदै उहाँले विदेशी पर्यटकका लागि लागू गरिएको महँगो हवाई भाडादरले पर्यटन आगमनमा नकारात्मक असर पारेको दाबी गर्नुभयो ।




