काठमाडौँ ।
लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आईतवार देशभरका नदी तथा खोलाहरुमा बाढीको जोमिख रहेको जनाएको हो । महाशाखाकाअनुसार गण्डकी प्रदेशका केही जिल्लामा बाढीको जोखिम अति उच्च रहेको छ । महाशाखाका असिस्टेन्ट हाइड्रोलोजिस्ट प्रभाकर यादवले गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा भएको वर्षाका कारण नारायणी बेसिनअन्तर्गतका म्याग्दी, कालीगण्डकीलगायत नदीमा पानीको सतह उल्लेख्य बढेको छ । ती क्षेत्रमा बाढीको जोखिम उच्च रहेको उहाँले बताउनु भयो । नारायणी बेसिनका त्रिशूली, बुढीगण्डकी, मस्र्याङ्दी, सेती र नारायणी नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । आईतवार दिउँसोसम्म बहाव थप बढेपछि क्रमशः घट्दै जाने अनुमान गरिएको छ । तर सोमवार पुनः उल्लेख्य वृद्धि हुनसक्ने महाशाखाले जनाएको छ । कोशी बेसिनका सप्तकोशी, तमोर, अरुण र दुधकोशीलगायत नदीमा पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ । कोशी बेसिनका नदीहरुमा सोमवारसम्म बहाव बढ्ने सम्भावना रहेको र त्यसपछि सामान्य घटबढ हुने उहाँले बताउनु भयो । कर्णाली, चेपाङ र ठूलीभेरीलगायत नदीमा पनि पानीको बहाव बढ्ने र त्यसपछि क्रमशः घट्दै जाने पूर्वानुमान छ । महाकाली र कन्काई नदीमा समेत बहाव उल्लेख्य बढ्ने देखिएको छ । कमला नदी भने सामान्य अवस्थामा फर्किएको र सोमवारदेखि सामान्य रहने महाशाखाको अनुमान छ । पूर्वी राप्ती, तिनाउ, बाणगंगा र बबई नदीमा पनि पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ । रातिको बाढीका कारण तिनाउमा बहाव उल्लेख्य बढ्ने र त्यसपछि क्रमशः घट्ने यादवले बताउनु भयो ।
कुन क्षेत्रमा कस्तो जोखिम ?
महाशाखाले बाढीको जोखिमलाई विभिन्न तहमा वर्गीकरण गरेको छ । बारा, पर्सा, रौतहट, काठमाडौं, काभ्रेपलाञ्चोक र भक्तपुरलगायत जिल्लामा बाढीको न्यून जोखिम रहेको छ । गोरखा, रसुवा, धादिङ र नुवाकोटलगायत जिल्लामा मध्यम जोखिम रहेको महाशाखाका असिस्टेन्ट हाइड्रोलोजिस्ट यादवले बताउनु भयो । यी क्षेत्रमा नदी तथा खोलामा पानीको बहाव बढेपनि सावधानी तहभन्दा तल रहने अनुमान गरिएको छ । कपिलवस्तु र रुपन्देहीमा उच्च जोखिम रहेको उहाँको भनाई छ । ती क्षेत्रमा नदी तथा खोलाको पानी सावधानी तहभन्दा माथि पुग्न सक्ने भएकाले शतर्क रहन र खोलानदीबाट टाढा रहन उहाँले आग्रह गर्नुभयो । मुस्ताङ, मनाङ, कास्की, म्याग्दी, तनहुँ, नवलपरासी र चितवनलगायत जिल्लालाई बाढीको अति उच्च जोखिम क्षेत्रमा राखिएको छ । यी क्षेत्रमा नदी तथा खोलामा पानीको बहाव अत्यधिक बढ्न सक्ने र आकस्मिक बाढीको जोखिम रहेकाले सुरक्षित स्थानमा सर्न उहाँले आग्रह गर्नुभयो ।
काठमाडौं उपत्यकामा भने वर्षाका कारण खोलानालामा पानीको बहाव बढ्ने भएपनि तत्काल ठूलो बाढीको अवस्था नरहेको उहाँले बताउनु भयो । आगामी २४ घण्टासम्म उपत्यकामा मध्यम जोखिम रहने र सोमवारदेखि नदी तथा खोलानाला सामान्य अवस्थामा फर्किने पूर्वानुमान गरिएको छ । महाशाखाले उच्च तथा अति उच्च जोखिम भएका क्षेत्रमा नदी, खोला र बाढी प्रभावित क्षेत्रबाट टाढा रहन तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।




