बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो

गोरखाको जगत क्षेत्रबाट बूढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण बेनीघाटसम्मको क्षेत्रमा उच्च जोखिम देखिएको छ ।
नदीमा गेग्रान मिश्रित ठूलो बहाव आएपछि आरुघाटस्थित बाढी मापन केन्द्र र पुल बगेका छन् ।  बाढीको जोखिमलाई मध्यनजर गर्दै बाढी पूर्वानुमान शाखाले त्रिशूली र नारायणी करिडोरका तटीय क्षेत्रमा आज दिनभर उच्च शतर्कता अपनाउन आग्रह गरेको छ । आईतवार बिहान करिव ४ बजे शुरु भएको बाढी तीन चरणमा आएको तथ्याङ्कले देखाएको छ । बिहान ६ः३० बजेदेखि बढ्न थालेको बाढी ८ः४५ बजेसम्म ८.५ मिटरको सतहमा पुगेको थियो । जुन खतराको तहभन्दा धेरै माथि हो । यसअघि नै बाढी पूर्वानुमान शाखाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको थियो ।
बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीकाअनुसार गोर्खाको चुमनुब्री गाउँपालिकामा खसेको पहिरोका कारण नदी थुनिएर क्यास्केडिङ इफेक्ट (क्रमिक रूपमा फुट्ने प्रक्रिया) हुँदा बाढी विभिन्न चरणमा आएको हुनसक्ने प्रारम्भिक अनुमान छ । उपग्रहबाट प्राप्त तस्बिरहरूमा हिमाल क्षेत्रमा पहिरो देखिएको छ, जसको यकिन विवरण आउन अझै केही समय लाग्नेछ ।
उहाँले भन्नुभयो, ‘बुढीगण्डकी नदीमा आज बिहान आएको आकस्मिक बाढीको जानकारी बिहान ५ः३० बजेतिर प्राप्त भएपछि तत्कालै तल्लो तटीय क्षेत्रमा शतर्कता सूचना जारी गरिएको थियो । आरुघाटस्थित बाढी मापन केन्द्रका अनुसार बिहान ६ः३० बजे जलस्तर करिव एक मिटर बढेको थियो। त्यसपछि बिहान ७ः५० बजे पाँच मिटरको खतरा तह पार गरेको र बिहान ८ः४५ बजेतिर जलस्तर ८.५ मिटर पुगेको थियो । त्यसपछि बाढीले मापन केन्द्र र पुल बगाएकाले थप तथ्याङ्क प्राप्त हुन सकेको छैन । बाढीले गेग्रानसहित ठूलो मात्रामा पानी बगाएर ल्याएको देखिएको छ। प्रारम्भिक भू–उपग्रह तस्बिरमा चुमनुब्री गाउँपालिकाको माथिल्लो हिमाली क्षेत्रमा ठूलो पहिरो देखिएको छ । पहिरोका कारण नदी थुनिएर विभिन्न चरणमा खुलेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि बाढीको वास्तविक कारणबारे थप अध्ययन भइरहेको छ । जोखिमको आकलनअनुसार बेनीघाटसम्म अति उच्च जोखिम, मुग्लिनसम्म उच्च जोखिम र मुग्लिनभन्दा तल मध्यम जोखिम रहेको छ । देवघाटमा जलस्तर उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले चितवन र नवलपरासी पूर्वका तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढीको प्रभाव कम गर्न र मानवीय क्षति रोक्न सम्बन्धित निकायले सूचना प्रवाह, बस्ती खाली गराउने र उद्धार कार्यलाई तीव्रता दिएका छन् । नेपाली सेनाको हेलिकप्टरबाट ६ जनाको सकुशल उद्धार गरिएको छ । बाढीको बहाव घटेर अवस्था सामान्य नहुँदासम्म बूढीगण्डकी, त्रिशूली र नारायणी नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।’
बाढीका कारण गोरखा क्षेत्रमा फसेका ६ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ । हाल बूढीगण्डकीको बाढी त्रिशूलीमा मिसिँदा त्रिशूलीको सतहमा करिव ३ मिटर बहाव बढ्ने आँकलन गरिएको छ। मुग्लिनसम्म उच्च जोखिम र मुग्लिनभन्दा तल्लो तटीय क्षेत्रमा मध्यम जोखिम रहेको शाखाले जनाएको छ । साथै, चितवन र नवलपरासीको तटीय क्षेत्रमा समेत नदीको बहाव उल्लेखनीय रूपमा बढ्ने भएकाले आज साँझसम्म नदीको अवस्था सामान्य नहुँदासम्म शतर्क रहन सबैमा अपिल गरिएको छ ।

Leave a Reply