माैसम पूर्वानुमान महाशाखाकाे विशेष बुलेटिन, सतर्क रहन आग्रह | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८३, सोमबार

माैसम पूर्वानुमान महाशाखाकाे विशेष बुलेटिन, सतर्क रहन आग्रह

काठमाडाैं । बंगालको खाडीमा विकसित ’मोन्था’ नामको चक्रवातको प्रभावले भारी वर्षाको सम्भावना देखिएको भन्दै बाढी पूर्वानुमान महाशाखाले विशेष बाढी पूर्वानुमान बुलेटिन जारी गरेको छ । आज जारी गरिएको विशेष बुलेटिनमा बाढी पूर्वानुमान महासाखाले आगामी तीन दिन कोसी, मधेस र बागमती प्रदेशमा मध्य्यमदेखि भारी वर्षाको सम्भावना रहेको भनेको छ ।

कोसी, मधेस र बागमती प्रदेशका अधिकांश नदीको बहाब आज बढ्दो क्रममा रहने तथा १४ र १५ गते सतर्कता तह आसपास पुग्ने सम्भावना देखिएको छ । त्यसैले ती नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ।

बाढी महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ ।

यस्तै शुक्रबार कोसी, मधेस र बागमती प्रदेश भई बहने केही ससाना नदीमा बहाब आकस्मिक बढ्ने अनुमान बाढी महाशाखाले गरेको छ। यसैगरी शनिबार पनि कोसी, मधेस र बागमती प्रदेश भई बहने केही ससाना नदीहरूमा बहाब आकस्मिक बढ्न सक्ने आकलन गरिएको छ । शनिबार अपराह्नदेखि यस प्रणाली कमजोर हुने र नदीमा बहाब घट्दै जाने अनुमान रहेको बाढी महाशाखाले जनाएको छ । मनसुन बाहिरिएपछि असोज २४ गतेदेखि बाढीबारे दैनिक सूचना दिने सेवा बन्द गरेको बाढी महाशाखाले मोन्था चक्रवातका कारण आज विशेष बुलेटिन जारी गरेको हो ।

Leave a Reply

ताजा समाचार