काठमाडौँ ।
नेपाल मधुमेही समाजले आफ्नै स्वामित्वमा सुविधासम्पन्न ‘मधुमेह उपचार तथा अनुसन्धान केन्द्र’ स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ ।
बढ्दो बिरामी संख्या र संस्थाको दायरा फराकिलो बन्दै गएपछि भाडाको संरचनाबाट सेवा दिन अपुग भएको भन्दै समाजले आफ्नै जग्गा खरिद गरी अत्याधुनिक केन्द्र निर्माण गर्ने योजना सार्वजनिक गरेको हो । काठमाडौंमा आयोजित समाजको ३६ औं वार्षिक साधारण सभामा बोल्दै नेपाल मधुमेही समाजका अध्यक्ष शिव श्रेष्ठले अनुसन्धान केन्द्र स्थापनाको अवधारणा सार्वजनिक गर्नुभयो । अध्यक्ष श्रेष्ठकाअनुसार केन्द्र निर्माणका लागि हालसम्म ३ करोड रुपैयाँभन्दा बढी चन्दा संकलन भइसकेको छ । यद्यपि जग्गा र निर्माण सामग्रीको अत्याधिक मूल्यवृद्धिका कारण संकलित रकम मात्र पर्याप्त नभएकाले थप आर्थिक सहयोग जुटाउन समाजले अपिल गरेको छ । अध्यक्ष श्रेष्ठले हालसम्म समाजलाई प्राप्त सबैभन्दा ठूलो सहयोग २५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ रहेको र एक सय रुपैयाँसम्म दिने दाताहरूको सहयोगले कोष मजबुत बन्दै गएको जानकारी दिनुभयो । हालसम्म सहयोग गर्ने सबै दाताहरूको नाम समावेश गरेर विस्तृत विवरणसहितको पुस्तक प्रकाशन गर्न लागिएको समेत उहाँले बताउनु भयो । समाजलाई कार्यालय सञ्चालनका लागि घर उपलब्ध गराएर सहयोग पु¥याएकोमा उहाँले घरधनी पवित्र बज्राचार्यप्रति आभार व्यक्त गर्नुभयो । समाजको प्राज्ञिक तथा अन्तर्राष्ट्रिय पहुँचसमेत विस्तार हुँदै गएको उहाँको भनाइ छ । गत मार्च ५ र ६ तारिखमा थाइल्याण्डको बैंककमा सम्पन्न मधुमेहसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा समाजका तर्फबाट डा. ज्यासमिन तुलाधर र आलोक श्रेष्ठले प्रश्तुत गर्नुभएको कार्यपत्र स्वीकृत भई समाजको प्राविधिक उपस्थिति दर्ज भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय स्तरबाट समाजलाई आफ्नो कार्यक्षेत्र ठूलो बनाउन र छात्रवृत्ति लगायतका अवसर विस्तार गर्न सुझाव आएकाले पनि आधुनिक रिसर्च सेन्टर अपरिहार्य बनेको उहाँको भनाइ छ ।




