काठमाडौँ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदीमा सडक भासिएर अवरुद्ध भएको राजमार्ग आईतवारबाट खुलाउने तयारी गरिएको छ ।
त्रिशूली नदीको कटानका कारण सडक चर्किएर भासिएपछि अवरुद्ध बनेको राजमार्ग खुलाउन ब्याक कटिङ, ग्रेड कटिङ तथा माटो हटाउने काम भइरहेको हो । आज साँझसम्म यातायात सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको छ । नागढुङ्गा–नौबिसे–मुग्लिङ सडक आयोजना, पूर्वी खण्डका आयोजना प्रमुख गुरुप्रसाद अधिकारीकाअनुसार बाढीले सडकको तल्लो भाग कटान गरेपछि सडकको सतह दबिएको प्रारम्भिक अनुमान छ । हिजोसम्म कुनै समस्या नदेखिएको सडक अहिले चर्किएपछि तत्काल यातायात सञ्चालन गर्न ब्याक कटिङको काम थालिएको उहाँले बताउनु भयो ।
अधिकारीकाअनुसार सडक करिब ८० मिटर चर्किएको छ । चर्किएको भागको दुवैतर्फ थप ४०–४० मिटर विस्तार गरी सडकको ग्रेड र मोड मिलाउनुपर्ने भएकाले करिब १६० मिटर लम्बाइमा काम भइरहेको छ । सडक खुलाउने काममा १० वटाभन्दा बढी मेसिन तथा उपकरण परिचालन गरिएको आयोजनाले जनाएको छ । छवटा एक्स्काभेटरसहित लोडर र टिप्पर परिचालन गरी कटिङको काम भइरहेको छ । ठेकेदार, परामर्शदाता र आयोजना कार्यालयका प्राविधिक तथा अन्य कर्मचारी कार्यस्थलमा खटिएका छन् । स्थानीय तह, वडा कार्यालय, इलाका वन कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर काम अघि बढाइएको अधिकारीले बताउनु भयो ।
अधिकारीले भन्नुभयो, ‘हिजोसम्म गल्छीमा सडकमा कुनै समस्या थिएन । तर अहिले सडक चर्किएको छ । सडक चर्किनुको कारणबारे हामीले अनुमान गरेका छौँ । अस्ति आएको बाढीले सडकको बाटो कटान गरेका कारण पेभमेन्ट दबिएको हुनसक्छ । अहिले तत्काल यातायात सञ्चालन गर्नका लागि ब्याक कटिङ गरेर काम गरिरहेका छौँ । यहाँ अहिले १० थानभन्दा बढी मेसिन तथा उपकरण परिचालन गरिएका छन् । ठेकेदारका सबै साधनस्रोत परिचालन भएका छन् । परामर्शदाताको टोली र कार्यालयका कर्मचारीहरू पनि कार्यस्थलमा खटिएका छन् । हामीले स्थानीय तह, पालिका अध्यक्ष, वडा अध्यक्ष, इलाका वन कार्यालयलगायत जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर काम गरिरहेका छौँ । अहिले प्राकृतिक अवरोधबाहेक अन्य कुनै किसिमको अवरोध छैन । सम्भवतः आज साँझसम्म यातायात सञ्चालन गर्ने गरी हामीले प्रयास गरिरहेका छौँ । सडक करिव ८० मिटर चर्किएको छ । उक्त स्थानको दुवैतर्फ थप ४०–४० मिटर विस्तार गरी ग्रेड र मोड मिलाउनुपर्ने भएकाले करिब १६० मिटर लम्बाइमा काम भइरहेको छ । अहिले कटिङको काम भइरहेको छ । यहाँ १० वटाभन्दा बढी मेसिन तथा उपकरण परिचालन गरिएका छन् । छवटा एक्स्काभेटर, लोडर र टिप्परहरू छन् । आवश्यक परेमा थप उपकरण पनि परिचालन गर्नसक्छौँ । तर धेरै मेसिन परिचालन गर्दैमा मात्र काम छिटो हुने होइन । एउटा मेसिनलाई काम गर्न आवश्यक पर्ने निश्चित ठाउँ चाहिन्छ। त्यसैले उपलब्ध ठाउँअनुसार काम गर्नुपर्ने हुन्छ । हामीसँग प्राविधिक जनशक्ति र आवश्यक उपकरण दुवै छन् । सम्भवतः आज बेलुकासम्म पनि काम सम्पन्न गर्न सकिएन भने बत्तीको व्यवस्था गरेर भए पनि यथाशिघ्र आजै सडक खुलाउने प्रयास गर्नेछौँ ।’
यता, निर्माण व्यवसायी शहदेव खड्काकाअनुसार सडक खुलाउन हेभी इक्विपमेन्ट र करिव १० वटा टिप्पर परिचालन गरिएका छन् । मेसिन, टिप्पर र इन्जिनियरसहित करिब ७० देखि ८० जना जनशक्ति परिचालन गरेर बिहानैदेखि काम भइरहेको उहाँले जानकारी दिनुभयो । हिजैदेखि काम गर्ने तयारी भएपनि ग्यास बुलेट लिकेजका कारण काम अघि बढाउन कठिनाइ भएको खड्काले बताउनु भयो । अहिले शाखा सडकको मर्मतसम्भारसँगै ब्याक कटिङ, ग्रेड कटिङ र माटो हटाउने काम भइरहेको उहाँको भनाइ छ ।
निर्माण व्यवसायी खड्काकाअनुसार मौसम अनुकूल रहेमा छिट्टै यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि रातिभर जेनेरेटरको सहायताले फ्लडलाइट जडान गरी कामलाई निरन्तरता दिइएको छ । ब्याक कटिङ र माटो हटाउने कामपछि सबग्रेड तथा सबबेस निर्माण गरेर सडकलाई यातायात सञ्चालनयोग्य बनाउने योजना रहेको उहाँले बताउनु भयो ।




