काठमाडौँ ।
पृथ्वीराजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरुद्ध बनाएको सडक खुलाउन अझै कम्तीमा १५ दिन लाग्ने भएको छ । भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको छ । सडक विभागले अवरुद्ध सडक १५ दिनभित्रमा सञ्चालन ल्याउनेगरी तयारी गरेको जनाएको छ । विभागले प्राविधिक तथा भौगर्भिक विज्ञसहितको टोली कृष्णभीरमा परिचालन गरी तत्काल सडक सञ्चालनमा ल्याउने तयारी थालेको हो । पहिरोले कटान गरेको सडकको स्थलगत अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले बाढीका ठूलो बहावका कारण सडकको तल्लो भाग कटान भएको र माथिल्लो भूभागमा समेत चिरा परेकोले पहिरो खसेको बताउनु भयो । उहाँले राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल सुचारु गर्नेगरी काम अघि बढाइने जानकारी दिनुभयो । विज्ञहरूको टोलीबाट प्राविधिक राय लिएर सम्भव भएसम्म १० देखि १५ दिनमा राजमार्ग खुलाउने प्रयत्न गर्ने उहाँको भनाई छ । उहाँले हाल वैकल्पिक रुट र स्थानीय सडक प्रयोग गरेर यातायात सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो । सडक विभागले आगामी दिनमा नदी करिडोरमा निर्माण हुने राजमार्गलाई थप दिगो र विपद्–प्रतिरोधी बनाउने नीति आवश्यक रहेको जनाएको छ । विभागका सहसचिव ढकालले नदीको उच्च बहावको स्तरलाई ध्यानमा राखेर सडकको उचाइ बढाउने, वैकल्पिक लिंक तथा रुट विकास गर्ने, अग्ला पुल र आवश्यक ठाउँमा साना सुरुङ निर्माण गर्ने तथा प्राविधिक रूपमा सुरक्षित संरचना विकास गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार सुरुआती लागत केही बढेपनि दीर्घकालीन रूपमा टिकाउ हुने प्रविधिमा आधारित राजमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ ।
सडक विभागका भू–प्राविधिक विज्ञ मधुसुदन आचार्यले कृष्णभीरको पहिरो पुरानै स्लोप फेलियर भएको क्षेत्रमा दोहोरिएको गएको बताउनु भयो । उहाँकाअनुसार तत्काल सडक खुलाउन माथिल्लो भागको जोखिमयुक्त माटो तथा संरचना हटाएर सिंगल लेन डाइभर्सन निर्माण गर्न सकिने सम्भावना छ । सडक माथिबाट कटिङ गर्दा स्लोपलाई चरणवद्ध रूपमा निलिङ गर्दै लैजानुपर्ने उहाँले बताउनु भयो । तल्लो भागमा नदी कटान हाल रोकिएको प्रारम्भिक अध्ययनबाट देखिएको उहाँको भनाई छ । ड्रोनबाट खिचिएको तस्बिरमा नदीको तल्लो भागमा बेडरक भेटिएको हुन सक्ने देखिएकाले हाललाई माथिबाट डाइभर्सन निर्माण गरेर सडक खोल्ने सम्भावना रहेको उहाँले बताउनु भयो । नदीको टो–स्कर तथा कटान नियन्त्रण गर्न जिओब्याग, ग्याभिन नेट तथा बोल्डरलाई नेटले ¥याप गरेर तल्लो भाग संरक्षण गर्ने प्रविधि प्रयोग गर्न सकिने उहाँको भनाई छ । यस्तो संरचनाले नदीको कटान कम गरी विद्यमान स्लोपलाई थप भत्किनबाट जोगाउन सहयोग गर्नेछ । उहाँकाअनुसार हाल सडक सञ्चालनमा ल्याउन करिव १०० मिटर लम्बाइ र १० देखि १५ मिटर उचाईको प्रभावित क्षेत्रबाट हजारौँ घनमिटर सामग्री हटाउनुपर्ने देखिन्छ । तीन–चारवटा मेसिन परिचालन गरी तिब्र गतिमा काम गर्न १५ दिनमा सडक सञ्चालनमा ल्याउन सकिने उहाँले बताउनु भयो ।उहाँले पहिरो पन्छाएर हाललाई सिंगल लेनको बाटो बनाउन सकिने बताउनु भयो । सडकको भित्तो कटिङ गरेर केही माथीबाट सडक खुलाउन सकिने उहाँको भनाई छ ।
This website uses cookies.