माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।
मंगलवार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कृषिमा उत्पादन वृद्धि गर्न माटो सुधार योजनालाई अगाडी बढाएको बताउनुभएको हो । उहाँले माटोसुधार योजनासँगै कृषि उत्पादनमा, बजारीकरण र व्यवसायसँग जोड्न किसान सूचीकरण र डिजिटल मार्केटप्लेस निर्माणका योजनालाई पनि प्राथमिकतामा राखेको बताउनु भयो । उर्वर भूमिमा भइरहेको कङ्क्रिटकरण रोक्दै कृषि उत्पादनका लागि जमिनको उपयोग बढाउने विषयमा सरकारले माटो सुधार योजनालाई अघि सारेको उहाँको भनाई छ । उहाँकाअनुसार माटोको गुणस्तर सुधार गर्न जैविक तथा प्राङ्गारिक पदार्थको प्रयोगमा जोड दिँदै कार्ययोजना निर्माण भइरहेको छ । नेपालको माटोको पीएचस्तर घट्दै गएको भन्दै उहाँले दीर्घकालीन रूपमा माटोको उर्वराशक्ति संरक्षण गर्न जैविक, प्राङ्गारिक तथा दिगो कृषि प्रणालीतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले किसान सूचीकरणलाई पनि सरकारले विशेष प्राथमिकता राखेको बताउनु भयो । किसान परिचयपत्रमार्फत किसान तथा उनीहरूले उत्पादन गर्ने वस्तुको विवरण व्यवस्थित गर्न सहज हुने उहाँको भनाई छ । उत्पादनलाई बजारसँग जोड्न एप्लिकेसन विकास गरी मार्केटप्लेस निर्माण गर्ने योजना पनि अघि बढाएको उहाँले जानकारी दिनुभयो ।

सरकारले विगतका योजनामा देखिएका कमजोरी पहिचान गरी तीन तहका सरकारबीच समन्वय र सहकार्य बढाउने गरी योजना तथा कार्यविधिको पुनःविश्लेषण गर्ने कार्य गरिरहेको उहाँले जानकारी दिनुभयो । कृषिमा निजी क्षेत्रको भुमिकालाई समेत सरकारले महत्व दिएको उहाँको भनाइ छ । कुनै पनि क्षेत्रको विकासका लागि निजी क्षेत्र सक्रिय हुनुपर्ने उल्लेख गर्दै उहाँले निजी लगानीलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रलाई आवश्यक अवसर उपलब्ध गराउने विषय सरकारको प्राथमिकतामा राखेको बताउनु भयो ।

Leave a Reply