कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ

आन्तरिक राजश्व विभागले कर प्रणालीलाई थप पारदर्शी, प्रविधिमैत्री र करदातामैत्री बनाउन नयाँ कानूनी तथा प्राविधिक व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालकाअनुसार करदाताले भोग्दै आएका प्रशासनिक झन्झट हटाउन र राजश्व परिचालनमा हुने सम्भावित चलखेल रोक्न यस्तो कदम चालिएको हो । महानिर्देशक भुसालकाअनुसार अब करदाताले आफूले बुझाएको मूल्य अभिवृद्धि कर (भ्याट) को विवरणमा त्रुटि भएमा सात दिनभित्र आफैँले संशोधन गर्न पाउनेछन् । यसअघि विवरण भर्दा सामान्य अंकगत त्रुटि (जस्तैः एउटा शुन्य बढी हुनु) भएमा पनि सच्याउनका लागि कर कार्यालय नै धाउनुपर्ने बाध्यता थियो । विद्युतीय माध्यमबाट स्रोतमा कर कट्टी (ईटीडीएस) गर्ने प्रक्रियालाई पनि विभागले थप व्यवस्थित बनाएको छ । हालको कानुनअनुसार प्रत्येक महिनाको २५ गतेभित्र ईटीडीएस दाखिला गरिसक्नुपर्ने प्रावधान भएपनि धेरै निकायले आर्थिक वर्षको अन्त्यसम्म रकम होल्ड गर्ने र अन्तिम समयमा मात्र दाखिला गर्ने प्रवृत्ति देखिएको थियो ।

महानिर्देशक भुसालले कतिपय अवस्थामा करको दायित्व कम देखाउन ‘ब्याक डेट’ मा इन्ट्री गर्ने जस्ता म्यानुपुलेसन (हेरफेर) हुने गरेको समेत उल्लेख गर्नुभयो । अब प्रणालीलाई अनिवार्य र समयवद्ध बनाइएकाले यस्तो अनियमितता रोकिने विश्वास विभागको छ । यो व्यवस्थाले एकातिर राज्यको कोषमा समयमै राजस्व जम्मा हुने सुनिश्चितता गर्छ भने अर्कोतिर करदाताले आफ्नो कर कट्टीको प्रमाण खोज्दै भौचर बोकेर कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्नेछ । विभागले चालेका यी सुधारका प्रयासहरूले समग्र कर प्रशासनमा सुशासन कायम गर्न मद्दत पुग्ने महानिर्देशक भुसालको भनाइ छ ।

Leave a Reply