काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले वन क्षेत्रलाई रोजगारी सिर्जना र महिला उद्यमशीलता प्रवद्र्धनको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
आध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडले आयोजना गरेको ‘वन तथा कृषिमा आधारित उद्यमलाई निजी क्षेत्रसंगको साझेदारीमा विस्तार तथा स्तरोन्नती’ विषयक कार्यक्रममा उहाँले वन क्षेत्रमा रहेको ठूलो सम्भावनालाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनुभएको हो । उहाँले सामुदायिक वन उपभोक्ता समूह र वनमा आधारित उद्यममार्फत स्थानीय रोजगारी विस्तार गर्न सकिने बताउनु भयो । नेपालमा रहेका २३ हजार सामुदायिक वन उपभोक्तामार्फत वन क्षेत्रमा रोजगारी अभिवृद्धिका गर्न अथाह सम्भावना रहेको उहाँको भनाई छ । पछिल्लो समय वैदेशिक रोजगारी तथा आप्रवासनका कारण उत्पादन क्षेत्रमा महिलाको भूमिका बढ्दै गएको उल्लेख गर्दै उहाँले वनमा आधारित उद्यममार्फत महिला आर्थिक नेतृत्व विकास गर्न सकिने बताउनु भयो । उहाँकाअनुसार नेपालले वन संरक्षणका क्षेत्रमा विश्वमै उदाहरणीय उपलब्धि हासिल गरेको छ । अब संरक्षणमा हासिल गरेको सफलतालाई आर्थिक समृद्धिसँग जोडेर नयाँ नमुना स्थापित गर्नुपर्ने उहाँले बताउनु भयो । वनमा आधारित कफी, रेजिन, गैरकाष्ठ वन पैदावार, मसला र महलगायतका वस्तुमा ठूलो सम्भावना रहेको उहाँको भनाई छ ।
वन क्षेत्रका लगानी गर्ने र उद्यम विकास गर्ने भन्नेबारे थप अध्ययन आवश्यक रहेको उहाँले बताउनुभयो । सम्भावनायुक्त उत्पादन पहिचान गरी मूल्य श्रृङ्खलाको विकास गर्नसकेमा वन क्षेत्रले रोजगारी, उद्यमशीलता र महिला आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पु¥याउने उहाँको दाबी छ ।





