काठमाडौं । जल तथा मौसम विज्ञान विभागकाअनुसार आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने देखिएको छ । दिउँसो देशभरका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली र तराईका क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । देशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यस्तै, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूका साथै मधेस र कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विशेषगरी वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । रातिको समयमा पनि देशभरको मौसममा बदलीको अवस्था कायम रहनेछ । कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रतर्फ कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ । हिमाली क्षेत्रका थोरै स्थानमा भने राति पनि वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।




