काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले जंगली हात्तीको आतंक नियन्त्रणको लागी वैज्ञानिक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले झापा–३ क्षेत्रमा भारतबाट ठूलो संख्यामा प्रवेश गरेका जंगली हात्तीका कारण स्थानीयवासीको जनजीवन प्रभावित भएको भन्दै तत्काल नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो । हात्तीको बथानले किसानले लगाएको धानबाली नष्ट गर्नुका साथै घरमा क्षति पु¥याउने र जुनसुकै बेला आक्रमण हुने जोखिम बढेको उहाँले बताउनु भयो । हात्ती नियन्त्रणका लागि वैज्ञानिक व्यवस्थापनको नीति अवलम्बन गर्न सरकारसँग माग गर्नुभयो । हात्ती प्रभावित क्षेत्रमा उच्च क्षमताका ट्रान्सफर्मर जडान गर्न तथा सडकमा सोलार बत्तीको व्यवस्था गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो ।
सम्भावित क्षति रोक्न राज्यले पूर्वतयारी र प्रभावकारी व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले क्षति भइसकेपछि मात्र समवेदना र सहानुभूति प्रकट गर्नुको सट्टा क्षति हुनै नदिने गरी राज्यले काम गर्नुपर्ने बताउनु भयो । हात्तीको आतंकका कारण स्थानीयवासी बालबालिका र वृद्धवृद्धाको सुरक्षालाई लिएर त्रसित अवस्थामा रहेको उहाँको भनाई छ । उहाँले जंगली हात्ती आतंकका कारण कतिपय नागरिक बसाइँ सर्नुपर्ने अवस्थामा पुगेको बताउनु भयो ।हात्ती नियन्त्रणका लागि प्रयोग भइरहेका उपाय प्रभावकारी हुन नसकेको भन्दै उहाँले प्रभावित क्षेत्रमा सुरक्षा संयन्त्रको उपस्थिति पनि कमजोर रहेको बताउनुभयो । विद्युत् आपूर्ति कमजोर हुँदा घरमा पर्याप्त प्रकाश नहुने र सडकमा सडक बत्तीको व्यवस्था नहुँदा हात्तीबाट हुने जोखिम थप बढेको उहाँको भनाई छ ।




