इरानसँगको प्रश्तावित सम्झौतामा अमेरिकी राष्ट्रपति ट्रम्पको असहमतिः परमाणु हतियार निर्माणको अनुमति दिन सकिँदैन | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

इरानसँगको प्रश्तावित सम्झौतामा अमेरिकी राष्ट्रपति ट्रम्पको असहमतिः परमाणु हतियार निर्माणको अनुमति दिन सकिँदैन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिकासँग सम्झौता गर्न इच्छुक भएपनि आफूले राखेका शर्तहरू मान्न तयार नभएको बताउनुभएको छ । दुई देशबीच तय गरिएको ६० दिने वार्ताको समयसीमा समाप्त भएसँगै राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । सोमवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार निर्माण गर्न नदिने आफ्नो मुख्य अडान दोहो¥याउनु भयो ।
उहाँले भन्नुभयो, ‘इरान सम्झौता गर्न त चाहन्छ, तर मलाई आवश्यक लागेको जस्तो सम्झौता गर्न उनीहरू तयार छैनन् । हाम्रो एउटै उद्देश्य छ– इरानले परमाणु हतियार राख्न पाउने छैन । यो निकै स्पष्ट कुरा हो ।’
सोही क्रममा ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण मानिने हर्मज जलसन्धिमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी समेत गर्नुभयो । नौसैनिक नाकाबन्दीमार्फत सबै इरानी बन्दरगाहहरूमा कडा निगरानी राखिएको बताउँदै उहाँले उक्त जलसन्धिलाई अमेरिकी नियन्त्रित क्षेत्र घोषणा गर्ने विषयमा समेत चासो व्यक्त गर्नुभयो ।
जलसन्धि खुला राख्न र सो क्षेत्रलाई दुई राष्ट्रको साझा नियन्त्रणमा राख्ने योजनाका साथ इरानसँग सहकार्य गरिरहेको ओमानको भूमिकाप्रति पनि ट्रम्पले असन्तुष्टि व्यक्त गर्नुभयो ।  ओमानको व्यवहार सकारात्मक नभएको उल्लेख गर्दै उहाँले अमेरिकाले यस परिस्थितिलाई सहजै सम्हाल्ने दाबी गर्नुभयो । इरानको परमाणु कार्यक्रम र हर्मज जलसन्धिको विषयलाई लिएर अमेरिका र इरानबीच कायम ६० दिने युद्धविरामको समय सोमवार समाप्त भएको छ । समयसीमा सकिए पनि दुवै पक्ष आ–आफ्नो अडानमा अडिग देखिएका छन्, जसले गर्दा यस क्षेत्रको कुटनीतिक तनाव तत्काल साम्य हुने संकेत देखिएको छैन ।

Leave a Reply

ताजा समाचार