इरानसँग कुनैपनि समयमा वार्ता पुनः शुरु हुनसक्छः अमेरिकी राष्ट्रपति ट्रम्प | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

इरानसँग कुनैपनि समयमा वार्ता पुनः शुरु हुनसक्छः अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता कुनै समय पुनः शुरु हुनसक्ने संकेत गर्नुभएको छ । सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको वर्तमान परिस्थिति निकै राम्रो रहेको दाबी गर्नुभयो । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य अभियान शुरु गरेपछि हर्मुज जलसन्धि प्रभावकारी रूपमा बन्द गरिएको थियो । सोही सन्दर्भमा बोल्दै ट्रम्पले उक्त जलक्षेत्र हाल संयुक्त राज्य अमेरिकाको पूर्ण नियन्त्रणमा रहेको जिकिर गर्नुभयो ।
राष्ट्रपति ट्रम्पले वासिङ्टनको मुख्य प्राथमिकता इरानलाई परमाणु हतियार विकास गर्नबाट रोक्नु रहेको कुरा पुनः दोहो¥याउनुभएको छ । उहाँले भन्नुभयो, ‘इरानसँग परमाणु हतियार हुनुहुँदैन र उनीहरूले त्यो प्राप्त गर्ने छैनन्। यदि उनीहरूले हतियार बनाए भने त्यसको प्रयोग गर्नेछन्, तर हामी उनीहरूलाई त्यसो गर्न दिने छैनौँ ।’
यद्यपि, वर्तमान अवस्थामा भने दुई देशबीचको संवाद रोकिएको छ । सिएनएनकाअनुसार राष्ट्रपति ट्रम्पले आफ्नो वार्ता टोलीलाई इरानसँगको संवाद स्थगित गर्न निर्देशन दिनुभएको छ ।
मङ्गलबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ट्रम्पले अमेरिका र इरानबीच हाल कुनैपनि वार्ता भइरहेको वा तय भएको जानकारी अस्वीकार गर्नुभएको थियो । उहाँले अमेरिकी नौसेनाको नाकाबन्दी अहिले पनि पूर्ण रूपमा जारी रहेको समेत स्पष्ट पार्नुभएको छ ।

Leave a Reply