काठमाडौँ ।
ललितपुर महानगरपालिकाले चिकित्सकसहितको एम्बुलेन्स सेवा शुरु गरेको छ । आकस्मिक अवस्थाका बिरामीलाई घटनास्थलबाट अस्पतालसम्म पु¥याउँदा आवश्यक प्रारम्भिक उपचार उपलब्ध गराउने उद्देश्यले महानगरले नयाँ सेवा सञ्चालनमा ल्याएको हो । चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवाको सोमवार एक कार्यक्रमकाबीच स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सुभारम्भ गर्नुभएको छ । मन्त्री मेहताले ललितपुर महानगरपालिकाले चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालन ल्याएर उदाहरणीय कामको शुरुवात गरेको बताउनुभयो । चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालनले आकस्मिक बिरामीको उपचारमा थप प्रभावकारिता ल्याउने उहाँको भनाई छ । आकस्मिक उपचारमा ‘गोल्डेन टाइम’ महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले घटनास्थलबाट अस्पतालसम्म पुग्ने समय घटाउन सकेमा धेरै गम्भीर क्षति रोक्न सकिने बताउनु भयो ।
ट्राफिक जाम तथा अन्य अवरोधका कारण अस्पताल पुग्न ढिलाइ हुँदा बिरामीको अवस्था जटिल बन्ने गरेको उहाँको भनाई छ । ललितपुर महानगरपालिकाको स्वास्थ्यसम्बन्धी पहलमा मन्त्रालयले आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनु भयो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नविशमानसिंह प्रधानले चिकित्सकसहितको एम्बुलेन्स सेवा बिरामीको प्रि–हस्पिटल केयर सुधार गर्ने महत्वपूर्ण पहल भएको बताउनु भयो । उहाँले यस्तो सेवा विश्वमै सीमित स्थानमा मात्रै सञ्चालनमा रहेको उल्लेख गर्नुभयो । उहाँले महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै आएको पनि जानकारी दिनुभयो । उहाँकाअनुसार साउन महिनामा मात्रै महानगरसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य केन्द्रबाट १० हजार ४१ जना बिरामीले सेवा लिएका छन् । त्यसमध्ये करिब ३ हजार जनाले अल्ट्रासाउन्ड सेवा लिएको उहाँले जानकारी दिनुभयो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फिलिपिन्सको माकातीमा चिकित्सकसहितको एम्बुलेन्स सेवा देखेपछि ललितपुरमा पनि यस्तो सेवा शुरु गर्ने अवधारणा अघि बढाइएको बताउनु भयो । उहाँकाअनुसार महानगरपालिकाको नवौँ नगरसभाबाट प्रस्ताव पारित भएपछि बजेट व्यवस्थापन गरी सेवा सञ्चालनमा ल्याइएको हो । एम्बुलेन्स सेवा आपत्कालीन अवस्थाका बिरामीका लागि केन्द्रित हुने उहाँले जानकारी दिनुभयो । चिकित्सकको उपस्थितिमा घटनास्थलमै प्रारम्भिक उपचार उपलब्ध गराउने र त्यसपछि बिरामीलाई उपयुक्त अस्पताल पु¥याउने व्यवस्था गरिएको उहाँको भनाई छ । एम्बुलेन्सले फोन आएको १५ मिनेटभित्र घटनास्थल पुग्ने लक्ष्य राखेको छ ।एम्बुलेन्स सञ्चालनको लागि महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य भएको हो । एम्बुलेन्स सेवाका लागि चिकित्सक उपलब्ध गराउने तथा चिकित्सकको सेवा–सुविधासम्बन्धी खर्च महानगरपालिकाले व्यहोर्ने समझदारी भएको छ । बिरामीको इच्छाअनुसार उनीहरूले रोजेको अस्पतालसम्म पु¥याउने व्यवस्था गरिएको छ । नगरप्रमुख महर्जनले महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको बताउनु भयो ।




