एजेन्सी, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाविरुद्ध हालसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा गरेका छन । अमेरिकी राष्ट्रपति ट्रम्पले पटक पटकको चेतावनीका बाबजुद उत्तर कोरियाले आफ्ना आणविक कार्यक्रम नरोकेको भन्दै हालसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा गरेका हुन ।
ट्रम्पको घोषणा उत्तर कोरिया मात्र नभई चिनियाँ तथा ताइवानी पानीजहाज कम्पनीप्रति पनि लक्षित भएको ह्वाइस हाउसले जनाएको छ । ट्रम्पको घोषणामा ५० वटाभन्दा बढी पानीजहाज कम्पनीलाई निशाना बनाइएको छ । तीमध्ये उत्तर कोरियाका १६, हङकङका पाँच, चीनका दुई, ताइवानका दुई र पनामा तथा सिंगापुरका एक\एक कम्पनी छन् । उत्तर कोरियाले पछिल्लो एक दशकयता अमेरिकाको विभिन्न नाकाबन्दी खेप्दै आएको छ ।
यसअघि गत डिसेम्बरमा संयुक्त राष्ट्र संघले उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले कटौती गर्ने गरी नाकाबन्दी लगाएको थियो ।
उत्तर कोरियाले भने राष्ट्रसंघ र अन्तराष्ट्रिय समुदायको चर्को आलोचना र प्रतिबन्धका बाबजुद आफ्ना आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।